ट्रम्प र जेलेन्स्कीबीच वाशिङ्टनमा वार्ता हुने


युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आगामी सोमबार वाशिङ्टन पुग्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न जेलेन्स्की सोमबार वाशिङ्टन जाने भएका हुन् ।

शनिबार पत्रकारलाई जानकारी दिँदै जेलेन्स्कीले अलास्कामा सम्पन्न ट्रम्प–पुटिन वार्तापछि ट्रम्पसँग लामो टेलिफोन संवाद भएको उल्लेख गरे । सो अवसरमा ट्रम्पले पुटिनसँग भएको वार्ताका ‘मुख्य बुँदा’ बारे जानकारी गराएको उनको भनाइ छ।

‘सोमबार वाशिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भेट्नेछु । त्यहाँ युद्ध अन्त्य गर्नेबारे सबै विवरणमा छलफल हुनेछ। निमन्त्रणाका लागि आभारी छु,’ जेलेन्स्कीले भने।

जेलेन्स्कीले ट्रम्पसँगको संवाद सुरुमा एकल वार्ता रहेपनि पछि युरोपेली नेताहरू पनि सहभागी भएको जानकारी दिए । ट्रम्प र पुटिनबीच अलास्कामा कुनै युद्धविराम घोषणा वा उल्लेखनीय प्रगति विना वार्ता सकिएको थियो । त्यसको भोलिपल्टै जेलेन्स्कीले युरोपेली मित्र राष्ट्रहरूलाई वार्ताका हरेक चरणमा समावेश गर्नुपर्ने धारणा राखेका थिए ।

युक्रेनी राष्ट्रपतिले आफू ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकका लागि तयार रहेको दोहोर्याएका छन्। तर क्रेमलिन भने यस्ता प्रयासप्रति असहमत रहँदै आएको छ । ‘प्रमुख विषय नेताहरूको स्तरमै छलफल हुन सक्छ, र यसका लागि त्रिपक्षीय प्रारूप उपयुक्त हुनेछ,’ जेलेन्स्कीले भने ।