सिरियामा फर्किनेको संख्यामा वृद्धि, तर भविष्य अझै अनिश्चित


दमास्कस । सन् २०२४ डिसेम्बर ८ यतादेखि २३ लाखभन्दा बढी सिरियालीहरू आफ्नै देश फर्किएका छन् । तथापि, उनीहरू अहिले पनि आवास, रोजगार र आधारभूत सेवा सुविधामा केही चुनौतीहरू सामना गरिरहेका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका एक प्रतिनिधिले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसंघका शरणार्थी उच्चायुक्तको सिरिया कार्यालयकी प्रवक्ता सेलीन श्मिटका अनुसार फर्किनेहरूमा टर्कीए, लेबनान, जोर्डन, इजिप्ट र इराकबाट फर्किएका सात लाख पचास हजारभन्दा बढी शरणार्थी र देशभित्र विस्थापित १६ लाखभन्दा बढी नागरिकहरू समावेश छन् ।

श्मिटले भने, “फर्किनेहरूको मुख्य प्रेरणा सुरक्षित वातावरणमा सुधार हुनु र परिवारसँग पुनर्मिलन गर्ने चाहना हुनु हो । यद्यपि, धेरैजसोले आफ्नो घर नष्ट वा क्षतिग्रस्त रहेको अवस्था पाएका छन् ।”

उनका अनुसार, सबैभन्दा ठूलो चुनौती बसोबासको अभाव रहेको छ । साथै, फर्किएका व्यक्तिहरूलाई दीर्घकालीन जीविकोपार्जनका लागि रोजगार र स्थायी आम्दानीको आवश्यक परेको छ ।

“उहाँहरूले हामीलाई भनेका छन् । हामीलाई राहतभन्दा कामको अवसर चाहिएको छ । हामी आफ्नै देशमा मेहनत गरेर भविष्य निर्माण गर्न इच्छुक छौं,” उनले भने ।

उनले नागरिकता प्रमाणपत्र नभएकाले धेरै बालबालिकाले विद्यालयमा भर्ना हुन नसकेको समस्या पनि औँल्याए ।
श्मिटले सिरियामाथि लागेका प्रतिबन्धहरू हटाउन र लगानी तथा सहयोग सहज बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरे । साथै, तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणबीच राम्रो समन्वय आवश्यक रहेकोमा जोड दिए ।