लाल किल्लाबाट मोदीको चेतावनीः आणविक ब्ल्याकमेलिङ सहिँदैन


बीबीसी हिन्दी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले परमाणु धम्की नसहने बताएका छन् । शुक्रबार भारतको स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लाल किल्लामा सम्बोधन गर्दै मोदीले पाकिस्तानलाई लक्षित गर्दै आणविक धम्की र ब्ल्याकमेलिङ अब स्वीकार्य नहुने बताए ।

मोदीले अपरेसन सिन्दूरका वीर सैनिकहरूलाई सलाम गर्दै भने, ‘हाम्रा जवानहरूले दुश्मनलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्। भारतले अब यो तय गरिसकेको छ अब हामी न्युक्लियरको धम्की सहनेवाला छैनौँ । अब ब्ल्याकमेलिङ सहँदैनौँ ।’

पहलगाममा भएको आतङ्ककारी हमलामा निर्दोष नागरिकको हत्या र धार्मिक पहिचानका आधारमा गरिएको संहारप्रति उनले आक्रोश व्यक्त गरे ।

प्रधानमन्त्रीले भने, ‘भारतले तय गरेको छ कि रगत र पानी सँगसँगै बग्ने छैन। भारतीय नदीको पानीको अधिकार भारतका किसानलाई हुनेछ।’

उनले सिन्धु सम्झौतालाई एकतर्फी र अन्यायपूर्ण भन्दै राष्ट्रिय हितमा पुनर्विचारको आवश्यकता औंल्याए । उनले मेड इन इन्डिया लडाकु विमानका लागि आफ्नै जेट इन्जिन निर्माणमा जोड दिँदै वैज्ञानिक, इन्जिनियर र सरकारी निकायलाई आह्वान गरे।