रोम । बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा डुंगा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर ) ले जनाएको छ ।
यो दर्दनाक घटना भूमध्यसागरको केन्द्रीय मार्गमा भएको हो, जहाँ विशेष गरी गर्मी याममा यूरोप पुग्ने आशामा धेरै आप्रवासीहरू अत्यधिक भीड भएका वा जीर्ण डुंगामा यात्रा गर्ने गर्छन् ।
यूएनएचसीआरका प्रवक्ता फिलिपो उङ्गारोले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने,’लाम्पेदुसा नजिक फेरि एकपटक यस्तो पीडादायक दुर्घटना भएको छ । हालसम्म २० शव फेला परिसकेको र झण्डै यति नै संख्यामा मानिसहरू अझै हराइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’
इटालीका गृहमन्त्री मातेओ पियान्तेदोसीले पनि यो घटना पुष्टि गर्दै उक्त डुंगा लाम्पेदुसाबाट १४ नौटिकल माइल टाढा दुर्घटनाग्रस्त भएको जानकारी दिए । प्राप्त विवरणअनुसार, उक्त डुंगामा जम्मा ९७ जना आप्रवासी सवार थिए ।
इटालीको समाचार संस्था अन्साले जनाएअनुसार, मृतकमध्ये एक नवजात शिशु, तीन बालबालिका, दुई महिला र दुई पुरुष रहेका छन्, जसको शवलाई लाम्पेदुसा स्थित शवगृहमा लगिएको छ ।
उद्धार भएकाहरूका अनुसार, मंगलबार साँझ लिबियाको त्रिपोलीबाट दुईवटा डुंगा प्रस्थान गरेका थिए । तीमध्ये एक डुंगा डुब्न थालेपछि त्यसमा रहेका केही यात्रुहरू अर्को डुंगामा सरेका थिए । अत्यधिक भारका कारण त्यो डुंगा पनि डुब्न थालेको हो ।
लाम्पेदुसास्थित आप्रवासी आश्रय केन्द्रकी सह–निर्देशक क्रिस्टिना पाल्माका अनुसार, हालसम्म ६० जना जीवित उद्धार गरिएकालाई सो केन्द्रमा लगिएको छ ।
सम्बन्धित अधिकारीहरूका अनुसार, समुद्रमा आप्रवासीहरू सङ्कटमा परेका देखेर इटालीको अर्थसम्बन्धी सुरक्षानिकायको विमानले उद्धारको सूचना दिएको थियो ।
यूएनएचसीआरले दिएको जानकारीअनुसार, चालु वर्षको आरम्भदेखि हालसम्म भूमध्यसागरको केन्द्रीय मार्गमा ६७५ जना आप्रवासीले ज्यान गुमाइसकेका छन् ।
इटालीको गृहमन्त्रालयका अनुसार, यस वर्ष अहिलेसम्म ३८ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री किनारमा पुगेका छन् ।

प्रतिक्रिया