बीबीसी । अदालतको आदेशपछि दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई गिरफ्तार गरिएको छ । शेयर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। आफूविरुद्ध लगाइएका आरोपहरू उनले अस्वीकार गरेकी छन् ।
गत महिना उनका श्रीमान् यून सुक यउललाई गिरफ्तार गरिएको पृष्ठभूमिमा एकै समयमा जेलमा हुने उनीहरू पहिलो पूर्वराष्ट्रपति दम्पती बनेका छन् । देशमा राजनीतिक उथलपुथल निम्त्याउने गरी गत वर्ष असफल मार्शल कानुन लागु गर्ने अभियोगमा यून सुक यउललाई गत महिना पुनः गिरफ्तार गरिएको थियो ।
राजधानी सोलमा मङ्गलबार चार घण्टा लामो सुनुवाइका क्रममा किम गन हीले सबै आरोपहरू अस्वीकार गरिन् । तर जेलबाहिर रहँदा प्रमाणहरू नष्ट गर्न सक्ने आशङ्कामा एक वरिष्ठ न्यायाधीशले उनलाई गिरफ्तार गर्न आदेश दिए ।
हुन त दक्षिण कोरियामा भूतपूर्व राष्ट्रपतिहरू मुद्दा र जेलमा पर्ने गरेका दृष्टान्त छन्, तर पहिलो पटक भूतपूर्व राष्ट्रपति र भूतपूर्व प्रथम महिला एकै समयमा जेलमा छन् । गत वर्ष मार्शल कानुन लागु गर्ने असफल प्रयास गरेका यूनलाई शुरूमा गत जनवरीमा मुद्दा चलाउन गिरफ्तार गरिएको थियो ।
अभियोजनकर्ताहरूले ५२ वर्षीया भूतपूर्व प्रथम महिला किमले अनुचित प्रभाव पारी दक्षिण कोरियामा बीएमडब्ल्यू मोटरको विक्रेता कम्पनीको ८० करोड डलर बराबरको शेयर प्राप्त गरेकी बताएका छन् ।
उनका श्रीमान् यून राष्ट्रपतिमा विजयी हुनुभन्दा अघि त्यो घटना भएको बताउने गरिए पनि राष्ट्रपति पदमा रहुञ्जेल त्यसको प्रभाव जारी रहेको थियो ।
व्यापारमा अनुचित लाभ पुर्याए बापत विवादास्पद युनिफिकेश चर्चको तर्फबाट दुईवटा च्यानल ब्याग र हिराको एउटा हार घुस लिएको पनि किममाथि आरोप छ । सन् २०२२ को उपनिर्वाचनमा उम्मेदवार मनोनयन तथा गत वर्षको आमनिर्वाचनमा पनि हस्तक्षेप गरेको उनीमाथि आरोप छ।

प्रतिक्रिया