केन्यामा बाल यौन व्यापारमा संलग्न महिलाहरूको पर्दाफास


नैरोबी । एबीसी अफ्रिका आईको एक विशेष अनुसन्धानले केन्याको माइ माहिउ सहरमा बालबालिकालाई वेश्यावृत्तिमा जबरजस्ती लगाउने महिलाहरूको संलग्नता उजागर गरेको छ । गोप्य छायाँकनमार्फत संकलित भिडियोमा अनुसन्धानकर्ताहरूले आफैंलाई वेश्या बन्न इच्छुक भन्दै प्रस्तुत गर्दै, महिनौंसम्म सहरको यौन व्यापारमा गुप्त रूपमा प्रवेश गरेका थिए ।

अनुसन्धानका क्रममा उनीहरूले दुई महिलासँगको सम्पर्क स्थापना गरे, जसले आफूहरू गैरकानुनी कार्यमा संलग्न रहेको स्वीकारे र नाबालिग बालिकाहरूलाई भेट गराए । ती मध्ये एक महिला, जसले आफूलाई ‘न्याम्बुरा’ भनी चिनाइन्, उनले १३ वर्षकी बालिकालाई विगत ६ महिनादेखि यौन व्यापारमा लगाइएको खुलासा गरिन् ।

माइ माहिउ, केन्याको रिफ्ट भ्याली क्षेत्रमा पर्ने एक प्रमुख ट्रान्जिट केन्द्र हो, जहाँ दिनरात मालवाहक ट्रकहरू युगान्डा, रुवाण्डा, दक्षिण सुडान र कंगो जस्ता देशतर्फ गइरहेका हुन्छन् । संकलित सबै प्रमाण मार्च महिनामा केन्याली प्रहरीलाई बुझाएको भए पनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

प्रहरीले अनुसन्धानकर्ताहरूले खिचेका महिलाहरू र बालिकाहरूलाई पत्ता लगाउन नसकिएको जनाएको छ । केन्यामा बाल यौन अपराधसम्बन्धी अभियोजन प्रक्रिया जटिल र दुर्लभ मानिन्छ ।

विशेषज्ञहरूका अनुसार नाबालिगहरूलाई बयान दिन डर लाग्ने भएकाले अधिकांश घटनाहरू कानुनी कारबाहीमा पुग्दैनन् । अनुसन्धानकै क्रममा न्याम्बुराले केही किशोरीहरूलाई एक घरमा लगेकी थिइन्, जहाँ उनीहरूले दैनिक रूपमा यौन दुव्र्यवहार खेपिरहेको बयान दिएका छन् ।