हनोई । भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण परेको बाढीमा परी कम्तीमा १० जनाको ज्यान गएको भियतनाम विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।
सबैभन्दा बढी असर दिएन बिएन प्रान्तको टिया डिन्ह र सा डुङ क्षेत्रमा परेको छ, जहाँ बाढीले १० जनाको मृत्यु र सात जना घाइते बनाएको भियतनामको कृषि मन्त्रालयले जनाएको छ ।
बिहीबारदेखि शनिबारसम्म लगातार परेको भारी वर्षाले आकस्मिक बाढी ल्याएको थियो । बाढीले धेरै गाउँहरूलाई बाह्य सम्पर्कबाट टाढा बनाएको छ, जसका कारण उद्धार र राहत कार्यमा कठिनाइ आएको छ । शनिबार उद्धार टोलीहरूले हेलिकप्टरमार्फत बाढीबाट अड्किएका बासिन्दासम्म पुगेर खाद्यान्न, औषधि र अन्य आवश्यक सामग्री वितरण गरेका थिए ।
प्रभावित मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ । आइतबार साँझसम्म अधिकांश क्षेत्रमा बिजुली र सञ्चार सेवा पुनः सुरु गरिएको छ । गत महिना मात्रै पनि, सोन ला प्रान्तमा आएको यस्तै बाढीले पाँच जनाको ज्यान लिएको थियो ।
बाढीले खेतीबाली, चौपाया र कुखुरा समेत बगाएर ठूलो आर्थिक क्षति पुर्याएको थियो । सन् २०२४ को सेप्टेम्बरमा आएको टाइफून यागीले भियतनाममा ठूलो विनाश ल्याएको थियो, जसमा ३४५ जनाको मृत्यु भएको थियो र करिब ३.३ अर्ब डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।

प्रतिक्रिया