बैंकक । थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन्।
प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजार हो, जहाँ आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए।
घटनाको कारण व्यक्तिगत विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए।
“उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको हो,” प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए। ओर तो कोर बजार बैंककको चाटुचाक बजार नजिकै पर्छ, जुन पर्यटकहरूबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ। थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानुन कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएका छन्।

प्रतिक्रिया