बीबीसी । क्याम्बोडिया र थाईल्यान्ड तत्काल लागु हुने गरी बिनासर्त युद्धविराम गर्न सहमत भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच मलेशियाको मध्यस्थतामा शान्तिवार्ता भएपछि युद्धविराम घोषणा गरिएको हो ।
मलेशियाका प्रधानमन्त्रीले ‘तनाव मत्थर पार्न तथा शान्ति र सुरक्षा पुनर्बहाली गर्न’ यो पहिलो महत्त्वपूर्ण कदम भएको टिप्पणी गरेका छन् । गत साता दुई देशका सेनाबीच विभिन्न सीमावर्ती क्षेत्रमा सङ्घर्ष हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो । गत सता दुवै देशले पहिलो आक्रमण अर्को पक्षबाट भएको आरोप लगाएका थिए ।
थाईल्यान्डले क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएपछि भिडन्त सुरु भएको दाबी गरेको थियो । क्याम्बोडियाका अनुसार पुरानो सहमति उल्लङ्घन गर्दै थाई सैनिकहरूले सीमानजिकै एउटा खमेर–हिन्दू मन्दिरमा प्रवेश गरेर सो क्षेत्रमा काँडेतार बारेपछि द्वन्द्व बढेको थियो ।
गत साता थाईल्यान्डले तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको थियो। उसले द्विपक्षीय वार्ताबाटै द्वन्द्वको सम्बोधन हुने भन्दै आएको थियो । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत बिहीबार नै मध्यस्थता गर्न आफू तयार भएको बताएका थिए। तर ट्रम्पको धम्कीपछि मात्रै उनको प्रस्तावप्रति थाईल्यान्ड सकारात्मक भएको बताइन्छ ।
क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा चिनियाँ सरकारलाई धन्यवाद दिए ।
ट्रम्पले दक्षिणपूर्वी एशियाका यी छिमेकी देशहरूलाई वाशिङ्टनसँगको व्यापार वार्ताको पूर्वसर्तका रूपमा सङ्घर्षविराम गर्न आह्वान गर्पछि यो वार्ता भएको हो । यी दुवै देशसँग रणनीतिक सम्बन्ध भएको चीनले पनि शान्तिका लागि मध्यस्थता गर्न आफ्ना प्रतिनिधि पठाएको थियो।

प्रतिक्रिया