बीबीसी । गाजा युद्धविरामका लागि कतारमा जारी वार्ताबाट इजरायल र अमेरिकी मध्यस्थकर्ताहरू बाहिरिने भएका छन् । उनीहरूले हमासमाथि ‘ठिक नियतले’ काम नगरेको आरोप लगाएका छन् ।
अमेरिकी विशेषदूत स्टीभ विट्कोफले एउटा विज्ञप्ति जारी गर्दै दोहाबाट आफ्नो टोली फिर्ता गर्ने निर्णय गरिएको बताएका छन् ।
‘हमासको पछिल्लो जवाफपछि हामीले छलफलका लागि दोहाबाट हाम्रो टोलीलाई छलफलका लागि फिर्ता बोलाउने निर्णय गरेका छौँ। हमासको जबाफले गाजामा युद्धविराम गर्ने इच्छाशक्तिको अभाव देखाएको छ,’ उनले भनेका छन्।
इजरायल सरकारले आफ्नो टोली फिर्ता बोलाउनुको कारण खुलाएको छैन। तर एक वरिष्ठ इजरायली अधिकारीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले वार्ता ‘भङ्ग नभएको’ उल्लेख गरेका छन् । हमासले विट्कोफको प्रतिक्रियाले स्तब्ध भएको र वार्ता जारी राख्न आफूहरू इच्छुक रहेको बताएको छ ।
मध्यस्थकर्तासहित वार्तामा संलग्न सबै पक्षले मुख्य विषयमा सहमतिका लागि ठूलो अन्तर रहेको स्वीकार गरेका छन् । वक्तव्यमा विट्कोफले ‘मध्यस्थकर्ताहरूले व्यापक पहल गरे पनि हमासले ठिक नियतले समन्वय गरे जस्तो नदेखिएको’ बताएका थिए ।
‘टाइम्स अफ इजरायल’ले उदृत गरेका इजरायली अधिकारीले हमासले अस्वीकारको शैली अपनाएको आरोप लगाएका छन् ।
उनले हमाससँगको खाडल कम गर्ने वास्तविक बाटो पहिचान भएको अवस्थामा आफूहरू वार्तामा फर्कने प्रतिक्रिया दिएका छन् । दोहामा दुई साता भन्दा अघिबाट जारी पछिल्लो चरणको वार्तामा कतार र इजिप्टका मध्यस्थकर्ताहरूले सहजीकरण गरेका थिए।

प्रतिक्रिया