थाइल्याण्ड । थाई र कम्बोडियन सेनाबीच विवादित सीमा क्षेत्रमा भएको सशस्त्र झडपमा कम्तीमा दुई सर्वसाधारणको ज्यान गएको छ भने दुई थाई सैनिक घाइते भएका छन् ।
झडप बिहीबार बिहान सुरु भएको हो र सीमाका विभिन्न स्थानहरूमा अझै पनि भिडन्त जारी रहेको अलजजिराले जनाएको छ । थाई सेनाले कम्बोडियन पक्षले पहिलोपटक भारी हातहतियार प्रयोग गर्दै आक्रमण गरेको दाबी गरेको छ।
तर, कम्बोडियाको रक्षा मन्त्रालयले आफ्नो सेनामाथि आक्रमण भएपछि आत्मरक्षामा जवाफी कारबाही गरिएको प्रतिक्रिया दिएको छ । झडपका कारण सीमावर्ती सुरिन प्रान्तका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्। दर्जनौं मानिसहरू अस्थायी शिविरमा आश्रय लिएर बसेका छन् ।
यो पछिल्लो झडप दुई देशबीच दशकौंदेखि चलिरहेको सीमा विवादको निरन्तरता हो, जुन यसअघि मे महिनामा पनि हिंसात्मक बनेको थियो । घटनापछि थाई सरकारले कम्बोडियास्थित आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ। जवाफस्वरूप कम्बोडियाले थाई राजदूतलाई देश छोड्न आदेश दिएको छ ।

प्रतिक्रिया