ट्रम्पको नाम एपस्टिन फाइलमा परेको रिपोर्टप्रति ह्वाइट हाउसको आपत्ति


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम बाल यौनदुराचारको अभियोग भोगेका दिवंगत वित्तीय कारोबारी जेफ्री एपस्टिनसम्बन्धी न्याय विभागका फाइलमा परेको भन्दै आएको समाचारप्रति ह्वाइट हाउसले आपत्ति जनाएको छ । ह्वाइट हाउसका प्रवक्ताले उक्त समाचारलाई खण्डन गरेका छन् ।

यो प्रतिक्रियासँगै अमेरिकी एक न्यायाधीशले न्याय विभागले सार्वजनिक गर्न खोजेको एपस्टिनसम्बन्धी फ्लोरिडाको अदालत फाइलहरू खोल्न अनुमति नदिएपछि बहस थप चर्किएको हो ।

वाल स्ट्रिट जर्नलले ट्रम्पको नाम एपस्टिनसम्बन्धी न्याय विभागका अभिलेखमा धेरैपटक देखिएको जनाएको छ । ती फाइलहरूमा अरु चर्चित व्यक्ति, राजनीतिज्ञ तथा व्यवसायीहरूको नाम पनि रहेको उल्लेख गरिएको छ । यद्यपि, फाइलमा नाम उल्लेख हुनु आपराधिक संलग्नताको प्रमाण होइन, न त ट्रम्पमाथि कुनै किसिमको आरोप नै लगाइएको छ ।

महान्यायाधिवक्ता पाम बन्डीले फेब्रुअरीमा राष्ट्रपति ट्रम्पलाई फाइलमा एपस्टिनसँग सामाजिक सम्बन्ध भएका व्यक्तिहरूको बारेमा उल्लेख गरिएको जानकारी दिएकी थिइन् ।

उनले फाइलमा बाल यौनदृश्य सामग्री तथा पीडितसम्बन्धी संवेदनशील विवरण पनि रहेको जनाउँदै ती अभिलेख सार्वजनिक नगर्न सुझाव दिएकी थिइन् ।