रियाद । सिरियामा युद्धपछिको पुनर्निर्माणको उद्देश्यले साउदी अरेबियाबाट १०० भन्दा बढी लगानीकर्ताहरूको एक प्रतिनिधिमण्डल बुधबार दमास्कस पुगेको छ । यो टोली त्यहाँ हुने एक लगानी सम्मेलनमा सहभागी हुँदै सिरियाको विकासका लागि अर्बौं डलर बराबरको लगानी सम्झौता गर्न चाहन्छ ।
तेल सम्पन्न खाडी राष्ट्र साउदी अरेबिया सिरियाको नयाँ सरकारको प्रमुख समर्थक बनेको छ । यो नयाँ नेतृत्वले इस्लामवादी विद्रोहीहरूको सहयोगमा लामो समयसम्म सत्तामा रहेका राष्ट्रपति बशर अल–असदलाई गत डिसेम्बरमा सत्ता च्युत गरी १४ वर्ष लामो गृहयुद्धको अन्त्य गरेको थियो ।
साउदीको सरकारी प्रसारक अल–एखबारीयाले जनाएको अनुसार, साउदीका लगानी मन्त्री खालिद अल–फालिहको नेतृत्वमा १२० लगानीकर्ता दमास्कस आएका छन् । उनीहरुले करिब १५ अर्ब साउदी रियाल (झन्डै ४ अर्ब अमेरिकी डलर) बराबरको लगानी सम्झौता गर्ने लक्ष्य राखेका छन् ।
साउदी अरेबियाको लगानी मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ,“सिरिया र साउदी अरेबियाबीचको सहकार्यलाई मजबुत बनाउने, दिगो विकास प्रवद्र्धन गर्ने र दुई मित्र राष्ट्रका साझा हितमा सहयोग विस्तार गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो ।”
यसअघि जुलाईको पहिलो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लागु गरिएका अधिकांश प्रतिबन्ध हटाउने निर्णय गरेका थिए । साउदी अरेबिया र टर्कीएको अपिलपछि उक्त निर्णय गरिएको हो, जसको उद्देश्य सिरियालाई अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पुनः समावेश गराउनु रहेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले सन् २०२५ को मे महिनामा साउदी भ्रमणका क्रममा सिरियाका कार्यवाहक राष्ट्रप्रमुख अहमद अल–शराअसँग भेट गरेका थिए । यसअघि, फेब्रुअरीमा सत्ता परिवर्तनपछि शराअले पहिलोपटक विदेश भ्रमणका लागि रियाद पुगेका थिए ।
यसै वर्ष साउदी अरेबिया र कतारले सिरियाले विश्व बैंकसँग तिर्न बाँकी रहेको करिब १५ मिलियन अमेरिकी डलर बराबरको ऋण भुक्तान गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
यद्यपि नयाँ नेतृत्वले राष्ट्रिय एकताको प्रतिबद्धता व्यक्त गरे पनि सिरियामा पूर्ण स्थायित्व कायम हुन सकेको छैन । विशेषतः अल्पसंख्यक समुदायहरूमध्ये उत्पन्न भएको हिंसात्मक झडपले सरकारको नियन्त्रणमा प्रश्न उठाएको छ।
साउनको सुरुवातमा सिरियाको स्वेइदा प्रान्तमा ड्रुज लडाकु र सुन्नी बेदुइन समुदायबीचको सानो झडप चाँडै ठूलो रक्तपातमा परिणत भएको थियो । त्यसक्रममा इजरायलले पनि हस्तक्षेप गर्दै सरकार पक्षका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको थियो ।
सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार, सो झडपमा हालसम्म करिब एक हजार ३०० जना ड्रुज समुदायका नागरिक मारिएको अनुमान गरिएको छ ।
सिरियाको पुनर्निर्माण र दीगो शान्तिका लागि साउदी अरेबियाको नेतृत्वमा अघि बढाइएको यो लगानी पहललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक सन्तुलन कायम गर्ने एउटा प्रयासका रूपमा पनि हेरिएको छ ।

प्रतिक्रिया