ट्रम्पद्वारा १५ प्रतिशत भन्सार शुल्कसहित ‘विशाल’ जापान व्यापारिक सम्झौताको घोषणा


वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राज्य अमेरिका जापानसँग ‘विशाल’ व्यापार सम्झौतामा सहमत भएको र यसमा जापानको निर्यातमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने बताएका छन् ।

ट्रम्पले आफ्नो विश्वव्यापी व्यापारिक आक्रमण सुरु गरेपछि दुवै मुलुक महिनौँदेखि वार्तामा बाँधिएका छन् । वार्तामा महत्त्वपूर्ण जापानी निर्यातका रूपमा रहेको स्टिल र अटोमोबाइलमा लक्षित भन्सार शुल्कहरू विशेष बाधाका रूपमा देखिएका छन् ।
यसअघि ट्रम्पले अमेरिकाको प्रमुख व्यापारिक साझेदार जापानलाई सम्झौता नभए अगस्ट १ देखि २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए ।

“हामीले भर्खरै जापानसँग ठूलो सम्झौता सम्पन्न गर्यौँ, सायद अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा घोषणा गरे, “सम्झौता अन्तर्गत जापानले मेरो निर्देशनमा संयुक्त राज्य अमेरिकामा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्नेछ, जसले ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।”

उनले असामान्य लगानी योजनामा थप विवरणहरू प्रदान गर्नुभएन तर यो सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्ने दाबी गरे ।
जापानी प्रधानमन्त्री शिगेरु इशिबाले टिप्पणी गर्नुअघि सम्झौताको जाँच गर्न आवश्यक रहेको बताए ।

“वार्ताको नतिजाका बारेमा के गर्ने भन्नेबारे हामीले वार्ता र सम्झौताको विवरणहरू सावधानीपूर्वक जाँच नगरेसम्म म यसमा छलफल गर्न सक्दिन”, इशिबाले वासिङ्टनमा ट्रम्पको घोषणापछि टोकियोमा पत्रकारहरूलाई भने ।

“जापान कार र ट्रक, चामल र केही अन्य कृषि उत्पादनहरू र अन्य चीजहरू सहित व्यापारका लागि आफ्नो देश खोल्न सहमत भएको छ”, ट्रम्पले भने ।

चामल आयात जापानमा संवेदनशील मुद्दा हो र इशिबाको सरकारले यस विषयमा कुनै पनि छुटलाई पहिले नै अस्वीकार गरेको थियो ।

सम्झौताको खबरपछि जापानको निक्केई सूचकाङ्कमा एक प्रतिशतभन्दा बढी उछाल आएको छ भने जापानी अटो सेयर छ प्रतिशतले बढेको छ ।

इशिबाले सप्ताहन्तमा भएको चुनावको सामना गरेपछि यो सम्झौता आएको हो । चुनावमा इशिबाको गठबन्धनले माथिल्लो सदनमा बहुमत गुमाएको छ ।

ट्रम्प आफ्नो अगस्ट १ को भन्सार शुल्क समयसीमाअघि धेरै सम्झौता गर्ने वाचा गरेपछि व्यापार सम्झौताहरू समाप्त गर्न दबाबमा छन् ।