२० वर्षदेखि कोमामा रहेका साउदी अरेबियाका राजकुमारको निधन


रियाद । साउदी अरेबियाका राजकुमार अल–वालिद बिन खालिद अल–सउदको २० वर्ष लामो कोमापछि ३६ वर्षको उमेरमा निधन भएको छ ।

सन् २००५ मा लन्डनमा भएको सवारी दुर्घटनापछि उनी कोमामा थिए । १५ वर्षको उमेरमा गम्भीर कार दुर्घटनामा परेका राजकुमारको मस्तिष्कमा रक्तस्राव र आन्तरिक अंगमा गम्भीर चोट पुगेको थियो । त्यसयता उनी अस्पतालमा भेन्टिलेटरमा जीवनयापन गरिरहेका थिए ।

‘स्लिपिङ प्रिन्स’ का नामले विश्वभर चिनिएका उनले कोमाबाट कहिल्यै होस फर्काएनन् । उनका पिता, राजकुमार खालिद बिन तलाल अल–सउदले सामाजिक सञ्जाल एक्समार्फत निधनको जानकारी दिएका छन् ।

राजकुमार अल–वालिदको अवस्थालाई लिएर विगत वर्षहरूमा साउदी र मध्यपूर्वका संचारमाध्यमहरूले पटक–पटक रिपोर्ट गर्दै आएका थिए। उनको अवस्थाले साउदी समाजमा दीर्घकालीन जीवनरक्षाका विषयमा व्यापक बहससमेत जन्माएको थियो ।