सूर्यको दक्षिणी ध्रुवको पहिलो भिडियो तथा तस्बिर पृथ्वीमा प्राप्त


बीबीसी । युरोपेली अन्तरिक्ष एजेन्सीको सोलर आर्बिटर अन्तरिक्ष यानले खिचेको सूर्यको दक्षिणी ध्रुवको पहिलो भिडियो तथा तस्बिर पृथ्वीमा प्राप्त भएको छ । नयाँ तस्बिरले वैज्ञानिकहरूलाई सूर्य कसरी तीव्र आँधी र शान्त समयबीच चक्कर लगाइरहन्छ भन्ने पत्ता लगाउन सहयोग गर्ने छ ।

सघन सौर्य गतिविधिले पृथ्वीसँगको स्याटलाइट सञ्चार प्रभावित हुन सक्छ र पृथ्वीमा पावर ग्रिडहरूमा पनि प्रभाव पर्न सक्छ त्यसैले यो महत्त्वपूर्ण छ । तस्बिरहरूले त्यहाँको असाध्यै चम्किलो वातावरण देखाउँछ, जसको कुनै भागको तापक्रम दश लाख डीग्री सेल्सिअससम्म पुग्छ।

बीच बीचमा ग्यासको कालो बादल पनि छ जुन तुलनात्मक रूपमा चिसो भए पनि त्यसको तापक्रम एक लाख डीग्रीसम्म हुन्छ । ईएसएका विज्ञान निर्देशक क्यारोल मन्डेलका अनुसार यो अहिलेसम्मकै सूर्यको सबभन्दा नजिकबाट खिचिएको विस्तृत तस्बिर हो। जसको सहायताबाट वैज्ञानिकहरूले हाम्रो पृथ्वीको जीवनदायी तारा अर्थात् सूर्य खासमा कसरी काम गर्छ भन्ने देखाउने छ ।

पृथ्वीबाट हेर्दा सूर्य यति चम्किलो छ कि यो कुनै चरित्र नभएको ‘डिस्क’ जस्तो देखिन्छ । तर फरक फरक आवृत्तिमा र विशेष फिल्टर प्रयोग गरेर वैज्ञानिकहरूले बाङ्गिने र मोडिने गरेको चुम्बकीय क्षेत्र सहितको एक बहुआयामिक तरल पदार्थको भकुन्डो जस्तो यसको वास्तविक स्वरूप देख्न सक्छन् ।

यिनै चुम्बकीय क्षेत्रहरूले सूर्य कतिबेला उग्र बन्छ र पृथ्वीतर्फ कणहरू मिल्काउँछ भन्ने निश्चित गर्छन् । निश्चित उत्तरी र दक्षिणी ध्रुव भएको सूर्यमा चुम्बकीय क्षेत्र व्यवस्थित रहेका बेला सूर्यमा समय शान्त बन्छ भन्ने वैज्ञानिकहरूलाई थाहा छ। यो चरणमा सूर्य हिंसक विस्फोट गर्न सक्षम हुँदैन तर यी क्षेत्र बिस्तारै जटिल र अस्तव्यस्त बन्दै जान्छन् र हरेक ११ वर्षमा उत्तरी र दक्षिणी ध्रुव एक अर्कातिर सर्छन् ।

यो अस्तव्यस्त समयमा सूर्यले उसको जटिलता कम बनाउन र हिंसक कणहरू फाल्ने काम गर्छ र त्यसरी फ्याँकिएका कणहरू पृथ्वीतर्फ आउँछन्। यी सौर्य आँधीले सञ्चार स्याटलाइट र पावर ग्रिडहरूमा प्रभाव पार्छन्। तर तिनले आकाशमा अरोराजस्ता सुन्दर दृश्य बनाउँछन्।