बीबीसी । अमेरिकाले हतियार आपूर्ति अवरुद्ध गर्नाले रुसले उसको लडाइँ झनै लम्ब्याइदिने किएभले चेतावनी दिएको छ । रुसले युक्रेनमा युद्ध गरिरहेको यो चौथो वर्ष हो ।
मङ्गलबार ह्वाइट हाउसले युक्रेनमा भइरहेको कतिपय हतियारको आपूर्ति रोकिएको जनाएको थियो । रक्षा मन्त्रालयले अन्य देशहरूलाई गरिएका सैन्य सहयोगको समीक्षा गरेको र त्यस बमोजिम अमेरिकी स्वार्थलाई मुख्य प्राथमिकता दिँदा उक्त निर्णय लिनु परेको ह्वाइट हाउसकी प्रवक्ता एना केलीले बताएकी थिइन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई देशले ‘आपूर्तिका विस्तृत पक्षबारे प्रस्टता खोजिरहेको’ बताएका छन्। युक्रेनी विदेश मन्त्रालयले कुनै पनि ढिलाइले ‘आक्रमणकारीलाई शान्ति रोज्नुको साटो युद्ध र आतङ्क मच्चाउन प्रोत्साहन मिल्ने’ भनेको छ ।
उसले खासगरी युक्रेनको हवाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउने आवश्यकतामा जोड दियो। रुसले हरेक रातजसो क्षेप्यास्त्र र ड्रोन हमला गरिरहेको छ । बुधवार किएभस्थित एक अमेरिकी कूटनीतिज्ञलाई विदेश मन्त्रालयमा वार्ताका निम्ति डाकिएको थियो ।
तर युक्रेनको रक्षा मन्त्रालयले चाहिँ अहिलेसम्म हतियार आपूर्ति ‘स्थगन वा पुनर्विचार’बारे अमेरिकाबाट आफूलाई कुनै सूचना आइनसकेको बताएको छ । उसले आक्रमणकारीविरुद्ध निरन्तर अनि संयुक्त दबावले मात्र युद्ध अन्त्यको मार्ग भेटिने बताएको छ ।
गत सप्ताहान्तमा युक्रेनमा युद्ध सुरु भए यताकै भीषण हवाई हमला भएको थियो। ५ सयभन्दा धेरै ड्रोन अनि बलिस्टिक तथा क्रुज क्षेप्यास्त्रहरू युक्रेनी सहरहरूमा प्रहार गरिएका थिए ।
कहिलेदेखि आपूर्ति रोकिँदै छ भनेर अमेरिकी अधिकारीहरूले बताएका छैनन् । अमेरिकी प्रसारण संस्था एनबीसीका अनुसार आपूर्ति रोकिने हतियारहरूमा प्याट्रिअट क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, हाविट्जर म्युनिशन, क्षेप्यास्त्र तथा ग्रिनेड लन्चर पर्न सक्छन् ।
सन् २०२२ को फेब्रुअरीमा रुसले अतिक्रमण गरेयता अमेरिकाले युक्रेनलाई दशौँ अर्ब डलर बराबरका सैन्य सहायता दिएको छ । यसबाट अमेरिका स्वयंको अस्त्र भण्डारमा न्यून भण्डारण हुँदै गएको भनेर ट्रम्प प्रशासनका केही अधिकारीहरूले भन्ने गरेका छन् ।

प्रतिक्रिया