तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा देशले निर्णय लिन अझै केही समय लाग्ने बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यम ‘सीबीएस न्यूज’ लाई दिएको अन्तरवार्तमा उनले यस्तो बताएका हुन् ।
हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरे पनि विदेशमन्त्री आराघचीले त्यो सम्भावना तुरुन्त सम्भव नहुने बताए ।
उनले भने, ‘हामी वार्तामा फर्कन चाहन्छौं, तर त्यसअघि यो सुनिश्चित गर्न आवश्यक छ कि वार्ताको समयमा अमेरिकाले फेरि सैन्य हमला गर्ने बाटो नअपनाओस् । यी सबै पक्षलाई विचार गर्दा, हामीलाई अझै केही समय चाहिन्छ । तर, कूटनीतिक वार्ताका ढोका कहिल्यै पूर्ण रूपमा बन्द हुँदैनन् ।’
जुन २२ मा अमेरिकाले नतान्ज, फोर्दो र इस्फाहानस्थित इरानी आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो ।
त्यसको प्रत्युत्तरमा इरानले कतारस्थित अमेरिकी ‘अल उदैद’ हवाई अड्डामा प्रहार गरेको थियो ।
यो आक्रमण सन् २०२५ जुन १३ मा इजरायलले इरानका केही सहरहरूमा एकतर्फी हवाई आक्रमण गरेपछि सुरु भएको संघर्षको बीचमा भएको थियो । दुवै देशबीच अन्ततः जुन २४ मा युद्धविराम घोषणा गरिएको थियो ।
उक्त घटनाहरूको केही दिनअगावै, इरान र अमेरिकाबीचको आणविक कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताको छैठौं चरण ओमानको राजधानी मुस्कटमा जुन १५ मा हुने तय गरिएको थियो । तर, संघर्षका कारण वार्ता स्थगित भएको थियो ।

प्रतिक्रिया