सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने


दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको आत्मघाती आक्रमणप्रति गहिरो दुःख प्रकट गर्दै यस घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन् ।

उनले सिरियाको बहुसांस्कृतिक र बहुधार्मिक समाजमा एकताको आवश्यक्तालाई स्मरण गराउँदै सबैलाई शान्ति र सहिष्णुतापूर्वक अघि बढ्न आग्रह गरे ।

सिरियाको राजधानीको ड्वेला नामक श्रमिक वर्गको बस्तीमा रहेको चर्चमा आइतबार भएको गोलीकाण्ड र आत्मघाती विस्फोटमा २५ जनाको मृत्यु भएको र ६३ जना घाइते भएका छन् । यो विवरण स्वास्थ्य मन्त्रालयले दिएको हो ।

पछिल्लो समय सिरियामा सत्ता परिवर्तनपछि शासनमा आएका इस्लामिक प्रशासनले उक्त आक्रमण इस्लामिक स्टेटसँग सम्बन्धित व्यक्तिले गरेको जनाएको छ । यद्यपि सो समूहले आक्रमणको जिम्मेवारी औपचारिक रूपमा स्वीकार गरेको छैन ।

अस्थायी राष्ट्रपति शराआले एक विज्ञप्तिमार्फत् भने, “हामी प्रतिज्ञा गर्दछौं कि यस घृणित अपराधमा संलग्न सबैलाई पत्ता लगाउन र उनीहरूलाई कानूनअनुसार सजाय दिलाउन हामी सबै सुरक्षा निकायहरूलाई पूर्ण रूपमा परिचालन गरी दिनरात लागिपर्नेछौं ।”

उनले पछिल्लो समयमा भएका सांप्रदायिक हिंसाका घटनाहरूले सुरक्षा व्यवस्थापन नयाँ सरकारको एक प्रमुख चुनौती भएको बताए। उनले यस प्रकारका हिंसात्मक घटनाहरूले राज्य र जनताको ऐक्यबद्धताको आवश्यकता झन् बलियो बनाएको उल्लेख गरे ।

सिरियाको गृह मन्त्रालयले जानकारी गराएअनुसार आन्तरिक मन्त्री अनस खत्ताब र गुप्तचर प्रमुख हुसेन अल–सलामेहले आकस्मिक बैठक गरी अनुसन्धानबारे छलफल गरेका छन् ।

मानव अधिकार निगरानी संस्था अनुसार सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि हालसम्म कुनै चर्चमा भएको यो पहिलो आत्मघाती आक्रमण हो। साथै, बशार अल–असदको पदच्युतिपछि राजधानीमा भएको यो पहिलो यस्तो हमला हो।