भारत । हैदराबादमा एक नेपाली युवकलाई आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृतक ३३ वर्षीया तारा बोहरा पनि नेपाली नागरिक हुन् ।
उनको शव जुन ४ मा बाचुपल्लीको एक सुनसान क्षेत्रमा फालिएको ट्राभल ब्यागभित्र फेला परेको थियो । पक्राउ पर्ने युवक ३० वर्षीय विजय टोप्पा हुन्, जो हैदराबादको एक रेस्टुरेन्टमा सेफका रूपमा कार्यरत थिए।
उनी र तारा सँगै बस्दै आएका थिए । प्रहरीका अनुसार दुबैको फेसबुकमार्फत चिनजान भएको थियो। तारा विवाहित थिइन् र दुई सन्तानसहितको परिवार नेपालमै थियो ।
तर, उनी अप्रिल १५ मा हैदराबाद आएर विजयसँग बस्न थालेकी थिइन् । मे २३ मा गर्भावस्था विषयमा विवाद भएपछि विजयले नाइलनको डोरी प्रयोग गरी ताराको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। त्यसपछि उनले शवलाई ट्राभल ब्यागमा हालेर सुनसान ठाउँमा फालेका थिए ।
एक स्थानीय चौकीदारले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटना सार्वजनिक भएपछि साइबराबाद प्रहरीका उच्च अधिकारी र फरेन्सिक टोली घटनास्थलमा पुगेका थिए।
पाँच विशेष टोली गठन गरी आरोपीको खोजी गरिएको थियो । सीसीटीभी फुटेज र प्रविधिको सहायताबाट विजयलाई मेडक जिल्लाबाट पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा उनले अपराध स्वीकार गरेका छन् ।

प्रतिक्रिया