किभ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) का महानिर्देशक राफाएल मारियानो ग्रोसीले युक्रेनमा अझै पनि आणविक सुरक्षासम्बन्धी खतरा विद्यमान रहेको भन्दै गम्भीर चासो प्रकट गरेका छन् । युक्रेनको सञ्चार संस्था टीएसएनले बुधबार यसबारे जानकारी दिएको हो ।
युक्रेनको भ्रमणका क्रममा उनले,“आणविक सुरक्षासम्बन्धी जोखिमहरू अझै पनि वास्तविक छन् र सधैँ रहने खालका छन्,” भनी स्पष्ट पार्दै, यस्ता दुर्घटना रोक्न संस्थाको उपस्थितिलाई अत्यावश्यक बताएका थिए ।
उनले युक्रेनमा रहेका आणविक ऊर्जा केन्द्रहरूमा अन्तर्राष्ट्रिय संस्था (आईएईए) को स्थायी निगरानी रहनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्, जसबाट सम्भावित ठूलो दुर्घटनाबाट जोगिन सकिन्छ भन्ने विश्वास उनको रहेको छ ।
विगतमा सन् १९८६ अप्रिल २६ गते चर्नोबिलस्थित आणविक केन्द्रको चौथो भागमा भएका विस्फोटहरूका कारण ठूलो दुर्घटना भएको थियो । दुर्घटनाबाट निस्किएको विकिरण युक्रेन हुँदै युरोपका अन्य राष्ट्रहरूमा समेत फैलिएको थियो । यो दुर्घटना इतिहासकै सबैभन्दा भयावह आणविक दुर्घटनामध्ये एक मानिन्छ ।

प्रतिक्रिया