युद्धले छोडेको सुडानी जनताको कहालीलाग्दो कथा


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान दुजारिकले बताएअनुसार सुडानका विभिन्न क्षेत्रमा लडाइँको तीव्रताले सर्वसाधारणलाई आफ्नै घर छोड्न बाध्य बनाएको छ र उनीहरू शरणार्थी बन्दै सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।

पश्चिम कोर्डोफान राज्यमा सुरक्षा अवस्था गम्भीर बनेपछि यसै महिनामा खिवाइ र नुहुद शहरबाट करिब ४७ हजार मानिस विस्थापित भएका छन् । प्रवक्ताका अनुसार, तीमध्ये धेरै व्यक्ति पहिले नै आन्तरिक रूपमा विस्थापित भइसकेका थिए र अब दोस्रोपटक पुनः विस्थापित हुनुपरेको हो ।

उत्तर दार्फुर राज्यमा पनि स्थिति चिन्ताजनक छ । केवल पछिल्लो सातामा अबु शोउक शिविर र एल फासर शहरबाट झण्डै एक हजार मानिस विस्थापित भएका छन्, जसले गर्दा यो महिनामा मात्र ती दुई स्थानबाट विस्थापित हुनेको सङ्ख्या ६ हजार पुगेको छ । हाल उत्तर दार्फुरमा करिब १७ लाखभन्दा बढी विस्थापित व्यक्तिहरू बसेका छन् ।

भोजनको मूल्य आकाशिँदै गएकाले अवस्था झनै जटिल बन्दै गएको छ । प्रवक्ताका अनुसार, खार्तुम राज्यका केही क्षेत्रमा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिएको देखिएको छ ।

राजधानी खार्तुममा स्थिति झनै गम्भीर छ । पछिल्लो हप्तामा प्रायः सम्पूर्ण रुपमा विद्युत आपूर्ति बन्द भएको छ, जसको कारण ड्रोन आक्रमणले अत्यावश्यक विद्युत संरचनालाई क्षति पुर्याएको भनिएको छ । यसले पानी र स्वास्थ्य सेवामा ठुलो बाधा र्पुयाएको छ । स्थानीय बासिन्दाहरू असुरक्षित पानीका स्रोतहरू प्रयोग गर्न बाध्य छन्, जसले जलजन्य रोगहरू फैलन सक्ने जोखिम बढाएको छ ।

श्वेत नाइल राज्यमा पनि मानवीय आवश्यकता बढ्दो छ, किनभने छिमेकी दक्षिण सुडानबाट असुरक्षा र बेकाबु परिस्थितिबाट भागेर हजारौं शरणार्थी आइपुगेका छन् । पछिल्लो छ हप्तामा मात्रै २५ हजारभन्दा बढी दक्षिण सुडानी शरणार्थी प्रायः महिला र बालबालिका श्वेत नाइल क्षेत्रमा सुरक्षित बसोबासको खोजीमा प्रवेश गरेका छन् ।

“यद्यपि मानवीय संस्थाहरूले सक्दो सहायता गरिरहेका छन् । हामी पुनः जोड दिन चाहन्छौं कि थप पहुँच र लचिलो वित्तीय स्रोतको तत्काल आवश्यकता छ,” प्रवक्ता दुजारिकले भने । उनले जानकारी दिएअनुसार, सन् २०२५ का लागि तय गरिएको चार अर्ब २० करोड अमेरिकी डलरको मानवीय सहायता योजनामध्ये हालसम्म केवल ५५ करोड २० लाख डलर मात्र प्राप्त भएको छ ।