ढाका । बङ्गलादेश सरकारको उच्च आर्थिक नीतिनिर्माण निकायले आगामी आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जूनसम्म का लागि २.३ ट्रिलियन टाका (करिब १९ अर्ब अमेरिकी डलर) बराबरको वार्षिक विकास कार्यक्रम (एडीपी) स्वीकृत गरेको छ।
यो रकम चालु आर्थिक वर्ष सन् २०२४–२५ को संशोधित एडीपीभन्दा ६.५८ प्रतिशतले बढी हो।
नयाँ एडीपी आइतबार अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा राष्ट्रिय आर्थिक परिषद्का अध्यक्ष मुहम्मद युनुसको अध्यक्षतामा बसेको बैठकमा स्वीकृत गरिएको हो।
बैठकपछि योजना सल्लाहकार वाहिदुद्दिन महमुदले पत्रकारहरूसँग कुरा गर्दै जानकारी गराए अनुसार आगामी आर्थिक वर्षको एडीपीमा समावेश २.३ ट्रिलियन टाकामध्ये १.४४ ट्रिलियन टाका आन्तरिक स्रोतबाट जुटाइनेछ भने बाँकी ८६० अर्ब टाका विदेशी परियोजना सहायता स्वरूप प्राप्त गरिनेछ।
यस एडीपीमा यातायात, सञ्चार, ऊर्जा तथा विद्युत् क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। साथै, सार्वजनिक कोषको दुरुपयोग रोक्दै त्यसको अधिकतम उपयोग सुनिश्चित गर्ने कुरामा पनि जोड दिइएको छ।
आगामी वर्ष कार्यान्वयनका लागि कुल एक हजार१४३ परियोजनाहरू समावेश गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया