बर्लिन । फ्रेडरिख मर्ज जर्मनीको दशौँ संघीय प्रमुख (चान्सलर) को रूपमा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन भएका हुन् । यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उनले अपेक्षित मत पाएका थिएनन् ।
पहिलो चरणमा उनले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए । दोस्रो चरणमा भने उनले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित भए ।
६९ वर्षको उमेरमा यो पद सम्हाल्न लागेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गरेका थिएनन् । उनी न संघीय मन्त्री थिए, न राज्य प्रमुख, न त नगरपालिकाको प्रमुख (मेयर) नै । कोनराड एडेनाउरपछि उनी यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति हुन्, जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हालेका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै, युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गरेका छन् । जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो ।
नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।
यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ ।

प्रतिक्रिया