रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटायो, सम्बन्ध सुधारिँंदै
मस्को । रुसको सर्वोच्च अदालतले अफगानिस्तानका वास्तविक शासकहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने उद्देश्यले प्रतीकात्मक सङ्केतका रूपमा तालिबानको पदनाम ‘आतङ्कवादी सङ्गठन’ बाट हटाएको छ ।
देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने अमेरिकी सेनाहरू बाहिर निस्किएपछि इस्लामिक समूह तालिबानले सन् २०२१ अगस्टमा अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।
मस्कोले अमेरिकी फिर्तीलाई ‘असफलता’ भनेको थियो र त्यसयता तालिबान अधिकारीहरूलाई सम्भावित आर्थिक साझेदार र आतङ्कवाद विरुद्ध लड्ने मित्रका रूपमा हेर्दै उनीहरूसँग सम्बन्ध सामान्य बनाउन कदम चालेको छ ।
“तालिबानको गतिविधिमा पहिले स्थापित प्रतिबन्ध – जसलाई आतङ्कवादी भनेर मान्यता दिइएका सङ्गठनहरूको एकीकृत सङ्घीय सूचीमा समावेश गरिएको थियो – निलम्बित गरिएको छ”, तास राज्य समाचार एजेन्सीका अनुसार सर्वोच्च अदालतका न्यायाधीश ओलेग नेफेदोभले एक फैसलामा भने, “यो निर्णय तुरुन्त कानूनी रूपमा लागू हुन्छ ।”
शीर्ष तालिबान अधिकारीहरूले रुसको धेरै पटक भ्रमण गरेपछि रुसका अभियोजक जनरलले गत महिना अदालतलाई समूहको ‘आतङ्कवादी’ पद हटाउन आग्रह गरेका थिए ।
तालिबान प्रतिनिधिमण्डलले सन् २०२२ र सन् २०२४ मा सेन्ट पिटर्सबर्गमा भएको रुसको प्रमुख आर्थिक फोरममा भाग लिएको थियो र समूहका शीर्ष कूटनीतिज्ञले गत अक्टोबरमा मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेटेका थिए ।
लेबल निलम्बन गर्ने निर्णयले अन्तर्राष्ट्रिय वैधानिकता खोजिरहेका तालिबान अधिकारीहरूका लागि औपचारिक मान्यता प्रदान गर्दैन ।
तर यसले उच्च–प्रोफाइल कार्यक्रमहरूमा सैन्य समूहका प्रतिनिधिहरूसँग भेट्ने रुसी अधिकारीहरूको लाज बचाउन मद्दत गर्दछ ।