किएभ । युक्रेनी एफ–१६ लडाकु विमानका एक चालकको रुसी आक्रमणमा मृत्यु भएको युक्रेनी सेनाले जनाएको छ ।
रूसी आक्रमणविरुद्ध लड्न सहयोग पुर्याउन युक्रेनलाई अमेरिकानिर्मित बहुमूल्य लडाकू विमान हस्तान्तरण गरिएपछिको यो दोस्रो घटना भएको किएभले बताएको छ ।
“सन् २०२५ अप्रिल १२ (शनिबार) मा २६ वर्षीय पाभ्लो इभानोभको एफ–१६ लडाकू मिसन उडाउने क्रममा मृत्यु भएको हो,” युक्रेनी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ
।“आक्रमणकारीहरूबाट आफ्नो मातृभूमिको रक्षा गर्दै उहाँ कारबाहीमा मारिनुभएको थियो,” विज्ञप्तिमा भनिएको छ ।
सेनाले उनको मृत्यु कसरी भयो भन्नेबारे थप विवरण दिएको छैन र ‘त्रासदीका सबै परिस्थितिहरू’ पत्ता लगाउन एक आयोगले काम गरिरहेको बताएको छ।
“युक्रेनी चालकहरूले आफ्नो मानवीय र प्राविधिक क्षमताको अधिकतम काम गर्छन्, हरेक पटक लडाकू मिसनहरू गर्दा उनीहरूको जीवनलाई जोखिममा पार्छन्। पावलो तीमध्ये एक थिए!,” सेनाले भनेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इभानोभको हत्या भएको भन्दै उहाँको परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “हामी सबै परिस्थितिको अनुसन्धान गरिरहेका छौं,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
किएभले गत वर्ष गर्मीयाममा एफ–१६ को पहिलो आपूर्ति पाएको थियो । सन् २०२४ को अगष्टमा पनि किएभले रुसी क्षेप्यास्त्र आक्रमणलाई प्रतिकार गर्ने क्रममा एफ–१६ विमान दुर्घटनाग्रस्त भएको र चालकको मृत्यु भएको बताएको थियो । किएभले घोषणा गरेको एफ–१६ विमानको अहिलेसम्मको यो एक मात्र क्षति थियो ।
गत महिना जेलेन्स्कीले कुनै निश्चित सङ्ख्या नदिई नयाँ संस्करणको जेट वितरण गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया