म्यान्मारको मध्यभागमा ७.७ म्याग्निट्यूडको भूकम्प
बीबीसी । म्यान्मारको मध्यभागमा आएको ७.७ म्याग्निट्यूडको भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किलोमिटर टाढा छ। उक्त भूकम्प जमिनभन्दा १० किलोमिटर तल उत्पन्न भएको यूएसजीएसले जनाएको छ । भूकम्पका कारण बैंककमा निर्माणाधीण एउटा ३०–तले भवन भत्किँदा ४३ मजदुर सम्पर्कविहीन भएका थाई अधिकारीहरूले बताएका छन् ।
भूकम्पका कारण म्यान्मारको राजधानी नेपिएडोमा केही क्षति पुगेको विवरण छ। थाइल्यान्डबाहेक दक्षिणपश्चिम चीनमा पनि धक्का महसुस गरिएको थियो । बैंककमा भवनहरूमा क्षति पुगेको छ भने म्यान्मारको राजधानीमा सडकहरू भत्किएका छन् ।
बैंककमा भुइँचालो थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने ठानिएको छ। थाई सरकारले आपतकालीन बैठक बोलाएको छ । अधिकारीहरूका अनुसार बैंककमा भत्किएको ३०–तले निर्माणाधीन भवनमा ५० जना मजदुर थिए।
तीमध्ये सात जना बाहिर निस्किन सफल भए भने ४३ जना फसेका छन् । म्यान्मारमा सैन्य शासकहरूले पहिलादेखि नै सञ्चारमाध्यम र इन्टरनेटमा नियन्त्रण गरेका हुनाले त्यहाँबाट सूचना आउन सकेको छैन ।