दक्षिण कोरिया । दक्षिणपूर्वमा धेरै दिनदेखि जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका दक्षिण कोरियाली अधिकारीहरूले सोमबार दर्जनौँ हेलिकप्टर, हजारौँ अग्निशामक र सैनिकहरू परिचालन गर्ने बताएका छन् ।
डढेलोबाट अहिलेसम्म चार जनाको मृत्यु भएको छ र अधिकारीहरूले उच्च हावा र बढ्दो तापक्रमले आगो निभाउने प्रयासमा बाधा पुर्याइरहेको चेतावनी दिएका छन् ।
युसिओङमा करिब सात हजार हेक्टर जमिन प्रभावित भएको र करिब छ सय मानिसलाई खाली गरिएको कोरिया वन सेवाका प्रमुख लिम साङ–सिओपले एक प्रेस ब्रिफिङमा बताए ।
“आगो निभाउन कुल ५७ वन अग्निशामक हेलिकप्टर परिचालन गरिनेछन्”, सैनिकहरूसहित दुई हजार छ सयभन्दा बढी अग्नि नियन्त्रणकर्मी ‘आफ्नो सम्पूर्ण शक्तिसँग जवाफ दिन’ परिचालन गरिने उल्लेख गर्दै उनले भने ।
आगो आंशिक रूपमा नियन्त्रणमा आएको थियो तर सोमबार दिउँसोसम्म पनि जलिरहेको थियो ।
युसिओङमा एएफपी फोटोग्राफरले बाक्लो कालो धुवाँले ढाकिएको सूर्य देखेका थिए भने आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको थियो ।
वन एजेन्सीले उत्तर र दक्षिण ग्योङसाङ प्रान्त, बुसान र डेजियोन लगायत धेरै स्थानमा ‘गम्भीर’ आगोको चेतावनी जारी गरेको छ ।
सियोलको दक्षिणपूर्वमा लगभग दुई सय ५० किलोमिटर टाढा दक्षिण ग्योङसाङ प्रान्तको सानचेओङ काउन्टीमा सप्ताहन्तमा ठूलो वनडढेलोमा चार जनाको ज्यान गएको थियो ।
त्यो आगो पनि सोमबारसम्ममा आंशिक रूपमा नियन्त्रित भएको थियो – तर अझै जलिरहेको थियो ।
सरकारले ‘देशभर एकैसाथ वनडढेलोहरूले पुर्याएको व्यापक क्षतिको’ उल्लेख गर्दै प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेको छ ।
सोमबार कार्यवाहक राष्ट्रपतिका रूपमा पुनःस्थापित भएका प्रधानमन्त्री हान डक–सुले केन्द्रीय विपद् र सुरक्षा प्रतिकार्य मुख्यालयको भ्रमण गरी अधिकारीहरूलाई ‘वन डढेलो पूर्ण रूपमा निभाउन’ मिलेर काम गर्न आग्रह गरे ।
“यो साँच्चै हृदयविदारक घटना हो”, सोमबार पछि आगोबाट प्रभावित मानिसहरूसँग भेट गर्ने कुरा गर्दै उनले भने ।
मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका नेता ली जे–म्युङले अधिकारीहरूलाई ‘आगो छिटो र सुरक्षित रूपमा निभाउन आफ्ना सबै साधनहरू परिचालन गर्न’ र कुनै पनि थप वनडढेलो रोक्न थप उपायहरू अपनाउन आग्रह गरे ।
गर्मी लहर वा भारी वर्षा जस्ता चरम मौसमका केही प्रकार जलवायु परिवर्तनसँग स्थापित सम्बन्ध छ ।
अन्य घटना जस्तै वनडढेलो, सुक्खा, हिमपात र उष्णकटिबन्धीय आँधीहरू जटिल कारकहरूको संयोजनबाट उत्पन्न हुन सक्छन् ।

प्रतिक्रिया