शेन्झाउ–१९ टोली तेस्रो बाह्य गतिविधिको लागि तयार
बेइजिङ । चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिन भित्र आफ्नो तेस्रो एक्स्ट्राभेहिकुलर गतिविधिहरू (इभा) सञ्चालन गर्ने चाइना म्यान्ड स्पेस एजेन्सी (सीएसएमए) ले घोषणा गरेको छ ।
यसवर्ष जनवरी २१ मा आफ्नो दोस्रो अन्तरिक्षयात्रा पूरा गरेदेखि चालक दलका सदस्यहरूले भेटघाट र ‘डकिङ’को लागि प्रशिक्षण, अन्तरिक्ष जीवन विज्ञान तथा मानव अनुसन्धान, सूक्ष्म गुरुत्वाकर्षण भौतिकी, नयाँ अन्तरिक्ष प्रविधिहरूको क्षेत्रमा प्रयोग र परीक्षण गर्ने जस्ता कार्यहरूको श्रृङ्खलाबद्ध काम गरेका छन् ।
स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ । सीएमएसएका अनुसार उनीहरुले तेस्रो इभाको तयारी पनि गरिसकेका छन् ।
एजेन्सीले स्पेस स्टेसन सहज रूपमा काम गरिरहेको र चालक दलका तीनै सदस्य स्वस्थ रहेको पुष्टि गरेको छ ।