भारतीय सेनासँगको भिडन्तमा २२ नक्सलवादी विद्रोहीको र एक सैनिकको मृत्यु



नयाँ दिल्ली । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ।

भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेखेका छन्, “हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन्।”

बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टाछुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन्। दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ।

शाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मोदी सरकार नक्सलवादीहरूविरुद्ध निर्मम दृष्टिकोणका साथ अगाडि बढिरहेको छ र आत्मसमर्पण नगर्ने नक्सलवादीहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाइरहेको छ।”

सन् १९६७ मा चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित सशस्त्र अभियान सुरु भएको क्षेत्रमा नक्सलवादी भनेर चिनिने विद्रोहीहरू लामो समयदेखि निरन्तर लड्दै आएका छन्।

शाहले भारत सरकारले अर्को वर्षको मार्चको अन्त्यसम्ममा विद्रोहको अवशेषलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ।

गत वर्ष सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका थिए जसमध्ये अधिकांश छत्तीसगढमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) का अनुसार यस वर्ष अहिलेसम्म ८० भन्दा बढी माओवादी मारिएका छन्।

माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ।

भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायमा प्रवेश गरको उक्त आन्दोलनले सन् २००० को दशकको सुरुसम्म शक्ति र सङ्ख्यामा वृद्धि गरेको थियो तर पछिल्ला दुई दशक यता यो आन्दोलन कमजोर देखिएको छ।

सन् २००० पछि नयाँ दिल्लीले ‘रेड करिडोर’ नामकरण गरेको उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ गरेको छ।

यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमण पनि भएका छन्। गत जनवरीमा सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

मस्को । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता

शेन्झाउ–१९ टोली तेस्रो बाह्य गतिविधिको लागि तयार

बेइजिङ । चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिन

अमेरिकाको टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट

अस्टन । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर