युद्धविराका लागि पुटिनले राखे कडा सर्त
बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यस्तो युद्धविरामको प्रकृतिबारे कडा सर्तहरू अघि सारेका छन् ।
अमेरिकासँग यो साताको सुरुमा ३०–दिने युद्धविरामका निम्ति तयार भएको भनेर युक्रेनले गरेको सहमतिबारे पुटिनले प्रतिक्रिया दिएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई ‘कुटिल’ भन्दै रुसविरुद्ध थप आर्थिक प्रतिबन्धको आह्वान गरेका छन् ।
अमेरिकाले रुसको तेल, ग्यास अनि ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ । मस्कोमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुटिनले युद्धविराम प्रस्तावबारे भने, ‘विषय सही हो, यसलाई हामी समर्थन गर्छौँ। तर छलफल गर्नुपर्ने केही प्रश्नहरू छन्।’
युद्धविरामले ‘दीर्घकालीन शान्ति स्थापना गर्नुपर्ने र सङ्कटको जरोको समाधान हुनुपर्ने’ पुटिनले बताए । ‘हामीले अमेरिकी तथा साझेदारहरूसँग कुराकानी गर्न आवश्यक छ,’ उनले भने। ‘सायद डोनल्ड ट्रम्पसँग मेरो कुराकानी होला। तीसदिने युद्धविराम हासिल भए युक्रेनीहरूलाई राम्रो हुने छ । हामी त्यसको पक्षमा छौँ तर यसलाई सूक्ष्म ढङ्गले परीक्षण गर्नुपर्छ।’
पुटिनका अनुसार विवादको एउटा विषय रुसको कुस्र्क क्षेत्र हो। त्यहाँ युक्रेनले गतवर्ष आक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो ।
पुटिनका अनुसार कुस्र्क अहिले पूर्णरूपमा रुसको नियन्त्रणमा आइसकेको छ र त्यहाँ युक्रेनी फौजलाई तितरबितर’ पारिएको छ ।
युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधे, ‘ती ३० दिन कसरी उपयोग गरिन्छ ? के युक्रेनका निम्ति पुनः परिचालनको मौका दिएर ? पुनः सशस्त्रीकरण गरेर? मानिसहरूलाई प्रशिक्षित गरेर ? वा ती केही पनि हुँदैनन् ? अनि अर्को प्रश्न–तिनको नियन्त्रण कसरी हुन्छ ?’
रुसी नेताले यति धेरै पूर्वसर्त राखेका छन् कि ‘केही पनि अगाडि नबढ्ने’ जेलेन्स्कीले बताए।