पाकिस्तानमा रेलमा बन्धक बनाइएका १५० यात्रुको उद्धार, कम्तीमा १६ विद्रोहीको मृत्यु’
बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १५० जनाको उद्धार गरिएको र त्यस क्रममा १६ लडाकुको मृत्यु भएको छ ।
बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलबार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ।
उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि दुर्गम सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो।
बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही जारी राखेको छ। सो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्।
रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। यद्यपि पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्।
उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए। आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए।
बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।
एक वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले उक्त रेल पहाडहरूको बीचमा अवस्थित एउटा सुरुङमार्गका अगाडि रोकिएको विवरण प्रकाशित गरेको छ।
सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए।