दक्षिण कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते
सियोल । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका क्रममा बिहीबार दुर्घटनावश आठवटा बम गलत ठाउँमा खसालेको जनाएको छ ।
“एयर फोर्सको केएफ–१६ विमानबाट असामान्य रुपमा खसालिएका आठवटा एमके–८२ बम सामान्य उद्देश्यका लागि खसालिएको र ती निर्धारित फायरिङ रेन्जभन्दा बाहिर अवतरण भएका जानकारीमा आएको छ,” वायुसेनाले भनेको छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियासँगको सीमाबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको पोचेओनमा स्थानीय समयअनुसार बिहान १० बजे उक्त घटना भएको हो ।
वायु सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बमहरू गलत ठाउँमा खसालिएकोमा हामी गहिरो खेद प्रकट गर्दछौं । यसबाट हताहत भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
उक्त घटनाको अनुसन्धानका लागि दुर्घटना प्रतिकार्य समिति गठन गरिएको र क्षतिको क्षतिपूर्तिलगायत सबै आवश्यक कदम समितिले चाल्ने जनाइएको छ ।
सैन्य जेटले ‘वायु सेना र स्थल सेना दुवै सम्मिलित संयुक्त प्रत्यक्ष–फायर अभ्यासमा भाग लिइरहेको’ समयमा उक्त दुर्घटना हुनपुगेको वायु सेनाले जनाएको छ ।
दक्षिण कोरियाली (योनहाप) समाचार संस्थाका अनुसार दक्षिण कोरियाले पोचेओनमा बिहीबार संयुक्त राज्य अमेरिकासँग संयुक्त ‘प्रत्यक्ष फायर अभ्यास’ गरिरहेको थियो ।
दक्षिण कोरियाको नेसनल फायर निकायका अनुसार दक्षिण कोरिया र अमेरिकाको संयुक्त अभ्यासका क्रममा एउटा गाउँमा बम खसेको अनुमान गरिएको छ ।
यसले गर्दा ‘हताहत र सम्पत्तिको क्षति भएको छ र यसमा धेरै विस्थापित बासिन्दाहरू परेका छन्”, विज्ञप्तिमा भनिएको छ, “घटनामा चार जना गम्भीर घाइते भएका छन् र तीन जना सामान्य घाइते भएका छन् ।” उक्त घटनामा एक चर्च भवन र दुई घरको केही भागमा क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण कोरिया र अमेरिकाको सबैभन्दा ठूलो वार्षिक संयुक्त अभ्यासमध्ये एक अभ्यास यसै महिनाको अन्त्यमा सुरु हुने भएको छ । सन् १९५० देखि १९५३ सम्म चलेको द्वन्द्व शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएपछि दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन् ।
प्योङयाङविरुद्ध सियोलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाले दक्षिणमा दशौँँ हजार सैनिक तैनाथ गरेको छ ।
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको जवाफमा सन् २०२२ मा दक्षिण कोरियाको ह्युन्मु–२ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाको पूर्वी गाङवोन प्रान्तको सैन्य गल्फ कोर्समा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त क्षेप्यास्त्र विस्फोट भने भएको थिएन र उक्त घटनामा कोही पनि घाइते पनि भएका थिएनन् ।