इयु शिखर सम्मेलनअघि हङ्गेरीका प्रधानमन्त्री ओर्बनले म्याक्रोनलाई भेट्ने
बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले युक्रेनलाई समर्थन गर्ने संयुक्त कार्यलाई सुदृढ पार्ने उद्देश्यले युरोपेली सङ्घ (इयु) को शिखर सम्मेलनको एक दिनअघि बुधबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई भेट्ने बताएका छन् ।
ओर्बानको यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई सैन्य सहायता आपूर्ति निलम्बन गर्ने आदेश दिएपछि आएको हो । उक्त आदेशले अमेरिका आफ्ना सहयोगीहरूबाट हट्दै र मस्कोतर्फ बढ्दै छ भन्ने डर युक्रेन र धेरै युरोपेली राजधानीहरूमा बढाएको छ ।
इयुमा ट्रम्प र मस्कोका नजिकका सहयोगीहरू मध्ये एक ओर्बनले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर हालैका दिनहरूमा ‘ट्रान्सअटलान्टिक फाटो’ स्पष्ट भएको बताए ।
“म आज पेरिसमा फ्रान्सका राष्ट्रपतिसँग भेट गर्दैछु”, राष्ट्रवादी नेताले मिडिया ब्रिफिङमा युक्रेनको युद्ध छलफलको विषय हुने सङ्केत गर्दै भने, “अमेरिकी राष्ट्रपति चुनावले अटुट बनाएको एक स्पष्ट रणनीतिक भिन्नता छ… केहीले युद्ध चाहन्छन् र केहीले शान्ति । यो चुनौती हामीले बिहीबार सामना गर्नुपर्नेछ । मेरा लागि बुधबार नै ।”
उनले सप्ताहन्तमा लन्डनमा युक्रेनको पक्षमा एकजुट हुन भेला भएका युरोपेली नेताहरूमाथि ‘युक्रेनमा युद्ध जारी राख्नुपर्छ’ भन्ने निर्णय गरेको आरोप लगाए ।
आइतबारको सङ्कट शिखर सम्मेलनपछि, म्याक्रोनले फ्रान्स र बेलायतले ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविराम प्रस्ताव गरेको बताए । हालको चरणमा भूमि युद्धलाई यसले समेटेको छैन । उक्त शिखर सम्मेलनमा हङ्गेरीलाई आमन्त्रित गरिएको थिएन ।