सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा


 

 

लण्डन । बेलायती प्रधानमन्त्री किर स्टार्मरले सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्याउने र आगामी संसदमा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेको बताएका छन् ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको युक्रेनबारे महत्त्वपूर्ण वार्ताअघि स्टार्मरले संसद्लाई यो वृद्धि अर्थतन्त्रको शून्य दशमलव पाँच प्रतिशतबाट शून्य दशमलव तीन प्रतिशतमा विदेशी विकास सहायता कटौती गरेर वित्त पोषण गरिने बताएका हुन् ।

ट्रम्पले नाटो सहयोगीहरूलाई आर्थिक उत्पादनको पाँच प्रतिशतसम्म रक्षा खर्च लक्ष्य दोब्बर बनाउन माग गरेका छन् ।

बेलायतले सन् २०२३/२४ मा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव तीन प्रतिशत रक्षामा खर्च गरेको थियो ।

स्टार्मरको लेबर सरकारले पहिले नै रक्षा खर्च दुई दशमलव पाँच प्रतिशतसम्म बढाउने प्रतिबद्धता जनाएको थियो तर समयसीमा तोकेको थिएन ।

उनले सांसदहरूलाई केही ‘कठिन विकल्पहरू’ हुने तर यो ‘शीत युद्धको अन्त्यपछि रक्षामा सबैभन्दा ठूलो निरन्तर वृद्धि’ हुने बताए ।

“सरकारले आगामी संसद्मा रक्षा खर्चलाई कूल गार्हस्थ्य उत्पादनको तीन प्रतिशतसम्म पुर्याउने स्पष्ट महत्त्वाकांक्षा पनि राख्नेछ”, उनले भने। ट्रम्पले युरोपेली राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आएका छन् ।

“युद्धको प्रकृति उल्लेखनीय रूपमा परिवर्तन भएको छ । यो युक्रेनको युद्धभूमिमा स्पष्ट छ र त्यसैले हामीले लगानी गर्दा हाम्रो क्षमताहरूलाई आधुनिकीकरण र सुधार गर्नुपर्छ”, स्टार्मरले भने, “यो लगानीको अर्थ बेलायतले नाटोमा र हाम्रो महाद्वीपको सामूहिक रक्षामा नेतृत्वकर्ताको रूपमा आफ्नो स्थिति बलियो बनाउनेछ र हामीले त्यो भूमिकालाई स्वागत गर्नुपर्छ ।”