अमेरिकामा सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी पत्र, उपलब्धिको सूची नबुझाए राजीनामा दिन चेतावनी
बीबीसी । अमेरिकाका सरकारी कर्मचारीहरूलाई इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको छ । यो डोनल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी चालेको पछिल्लो कदम हो ।
ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले ‘गत साता उनीहरूले के गरे भन्ने बुझ्नका लागि’ कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने जनाउँदै ट्वीट गरेपछि कर्मचारीले त्यस्तो इमेल पाएका थिए। उनले लेखेका थिए, ‘उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ।’
मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन् । ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा बोलेको केही समयपछि उक्त इमेल कर्मचारीहरूको इनबक्समा प्राप्त भएको थियो । त्यसको विषयमा ‘तपाईंले गत साता के गर्नुभयो?’ भनेर लेखिएको थियो ।
इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ । बीबीसीले प्राप्त गरेको इमेलको प्रतिलिपिमा कर्मचारीहरूलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा गत साता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ ।
यद्यपि उक्त इमेलमा जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने छ वा छैन भनेर उल्लेख गरिएको छैन । उक्त निकायले ‘दक्ष र जवाफदेही सङ्घीय जनशक्तिप्रति ट्रम्प प्रशासनको प्रतिबद्धतालाई अघि बढाउने हिस्साका रूपमा’ कर्मचारीहरूले उनीहरूका प्रबन्धकलाई पनि ‘सीसीमा राख्दै’ इमेल गरेर गत साता उनीहरूले गरेका कामको विवरण मागिएको जनाएको छ । यसमा आगामी कदम के हुन्छ भन्ने निर्णय ट्रम्प प्रशासनका निकायहरूले निर्धारण गर्ने पनि स्पष्ट पारेको छ।