युवा रुसीमाझ धुमिल हुँदै नाभाल्नीको विरासत


मस्को । कुनै समय हजारौँको सङ्ख्यामा एलेक्सी नाभाल्नीको सडक र्यालीमा सहभागी हुने रूसी युवाका लागि विपक्षी नेताको सार्वजनिक विरासत उनको मृत्युपछिको वर्षमा धुमिल हुँदै गएको छ ।

क्रेमलिनका आलोचकले युवा, सहरी र पश्चिमा समर्थक रुसीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउन मद्दत गर्ने आशा गरेका थिए तर मस्कोका गल्लीहरूमा, उनको नामले अहिले केवल उदासीनता वा डर मात्र जगाउँछ।

सेरामिक्सको भाँडा बनाउने २४ वर्षीया भिक्टोरियाले भने, “युवाहरू नाभाल्नीको कुरा गर्न डराउँछन्।”

सन् २०२४ को फेब्रुअरी १६ मा आर्कटिक जेलमा धमिलो परिस्थितिमा मृत्यु भएका नाभाल्नीबारे उनका साथीहरूबीच गोप्य रुपमा मात्र छलफल हुने गरेको उनले बताए ।

रूसी अधिकारीहरूले नभाल्नीलाई ‘अतिवाद’ को अभियोगमा १९ वर्षको जेल सजाय सुनाएका थिए, जसलाई पुटिनको विरोधका लागि प्रतिशोधको रूपमा हेरिएको थियो। नाभाल्नीलाई एकान्त तथा कठोर जेल रहेको क्षेत्रमा कैद गरिएको थियो जहाँ उनलाई लामो समय नियमित रूपमा एकान्त कारावासमा राखिएको थियो।

मस्कोले युक्रेन आक्रमणका बीच सबै प्रकारका सार्वजनिक असहमतिलाई गैरकानुनी घोषित गरेसँगै नभाल्नीको मृत्युपछि पनि उनको सङ्गठन, सहयोगी, शुभचिन्तक र परिवारका सदस्यहरूमाथि कारबाही बढेको छ ।

उनका तीन जना वकिललाई वर्षौंको जेल सजाय सुनाइएको छ । उनको अदालती सुनुवाइको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई गिरफ्तार गरिएको छ र उनकी पत्नी युलिया नाभाल्न्यालाई ‘आतङ्कवादी र अतिवादी’ को कालो सूचीमा समावेश गरिएको छ।

यदि कसैले नभाल्नी वा उनको भ्रष्टाचारविरोधी फाउन्डेसनलाई ‘अतिवादी’ घोषणा गरिएको उल्लेख नगरी प्रस्तुत गरी ‘पटक–पटक अपराध गरेमा’ जरिवाना वा चार वर्षसम्मको जेल सजाय हुने घोषणा गरिएको छ ।

यस्तो माहोलमा युवा रूसीहरू खुलेर कुरा गर्न हिचकिचाउँछन्।

आफ्नो परिवारको नाम बताउन अस्वीकार गर्दै १९ वर्षीया छात्रा अनास्तासियाले भने, “आज हामीसँग राजनीति, धर्म र सेक्स गरी तीन वटा वर्जित विषय छन्।”

पुटिनविरूद्ध उभिने साहस गर्ने व्यक्ति

“कोही पनि समस्या चाहँदैनन् । अहिले युवाहरू निकै अराजनीतिक भएका छन् र यी मुद्दाहरूलाई कुनै पनि तरिकाले नछुने कोसिस गर्छन्,” भिक्टोरियाले भने ।

एक २२ वर्षीय विद्यार्थी फ्योडोरले आफू र उनका साथीहरूले नाभाल्नीलाई एकान्तमा ‘सम्झने’ साहस मात्र गरेको बताए ।

“सामूहिक स्मृतिले यसलाई दबाए पनि, मेरो लागि उहाँ अझै पनि पुटिनविरूद्ध उभिने साहस गर्ने नमूना व्यक्तिका रूपमा मानसपटलमा रहनुभएको छ,” उनले भने ।

तर अरू धेरैका लागि नाभाल्नीको नाम उदासीनताभन्दा केही बढी मिल्दोजुल्दो छ।

अर्का अभिनयका २१ वर्षीय विद्यार्थी म्याक्सिमले भने, “क्रेमलिनका आलोचकका नाममा ‘प्रसिद्ध’ भएपनि उहाँको आफ्नै राजनीतिक विचार थियो । उहाँ यो संसारमा हुनुहुन्न । त्यसैले मैले उहाँलाई पछ्याइनँ।”

उनले थपे, “मेरा साथीहरूले के भइरहेको छ भनेर वास्ता गर्दैनन्। उनीहरूका आफ्नै कुरा छन्।”

“उहाँ को हुनुहुन्छ, कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ? मैले सुनेकै छैन। मलाई उहाँको नाम मात्र थाहा छ,” इन्जिनियरिङकी छात्रा अनास्तासिया सोलोभिएभाले भनिन् ।

सोलोभिएभा भर्खर १८ वर्षकी भइन् र उनलाई नभाल्नीलाई सँधै लड्नबाट रोक लगाइएको राष्ट्रपति चुनावमा मतदान गर्ने अधिकारका लागि योग्य बालिग भएकी छन् ।

“म कसलाई भोट हाल्ने ? मेरा आमाबाबुलाई जस्तै मलाई पनि स्थिरता मन पर्छ,” उनले भनिन् ।

‘युवामा अराजनीतिक सोच बढ्दो’

पुटिनबाहेक अरू कुनै नेतालाई नचिनेका उनीहरूको अराजनीतिकरणलाई सङ्केत गरेको स्वतन्त्र मतदान संस्था लेभाडा सेन्टरका निर्देशक करिब २० वर्षे युवा डेनिस भोल्कोभले बताए ।

नाभाल्नीको मृत्युपछि १८ देखि २४ वर्ष उमेरसमूहका ३७ प्रतिशत युवाले नाभाल्नी वा उनको कामको बारेमा केही पनि थाहा नभएको बताएका थिए ।

भोल्कोभले भने, “नाभाल्नीका अनुयायीहरूको ठूलो हिस्सा युवाहरूको नै रहेको छ र उनीहरू उहाँलाई नै समर्थन गरेका छन् किनभने उनीहरूको विश्वासमा नाभाल्नीले‘सत्य बोलेकै कारण उहाँलाई मारिएको थियो । उहाँले पुटिनको विरुद्धमा उभिन डराउनुभएको थिएन।”

सन् २०१३ को मस्कोको मेयरको चुनावमा २७ प्रतिशत मत प्राप्त गर्न उनलाई युवाहरूले नै सहयोग गरेका थिए, जुन निर्वाचनलाई उनले अनुचित र मिथ्या भनेर निन्दा गरेका थिए तर यसले क्रेमलिनलाई उनलाई फेरि मतदानमा जानबाट रोक्न पर्याप्त आधार प्राप्त भएको थियो।

“युक्रेनमा सैन्य कारबाही सुरु भएपछि सबै कुरा परिवर्तन भयो,” विदेशी एजेन्ट घोषित गरिएका भोल्कोभले भने ।
युक्रेनको आक्रमणबीच पुटिनले सत्तामा आफ्नो पकड थप मजबुत बनाएका छन् भने नेतृत्वविहीन र आन्तरिक कलहले ग्रस्त विपक्षीहरू सान्दर्भिकताका लागि सङ्घर्ष गरिरहेका छन् ।

भोल्कोभले भने, “शत्रुता समाप्त भएपछि र यदि पश्चिमाहरूसँग मतभेद भयो भने विपक्षी राजनीतिज्ञहरूको माग फेरि फर्कनेछ।”
तथापि, अहिले थुप्रै रूसी युवाले यस प्रश्नमा खासै चासो देखाएका छैनन् ।

“म राजनीतिबाट धेरै टाढा छु,” इन्जिनियरिङका १९ वर्षीय विद्यार्थी पावेलले भने “म यसको बारेमा छलफल गर्दिन किनभने मलाई यसबारे चासो नै छैन।”