सुडानको ग्रेटर खार्तुममा भएको गोलाबारी र हवाई आक्रमणमा कम्तीमा ५६ जनाको मृत्यु
सुडान । सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको सुडानी अधिकारकर्मीले बताएका छन् ।
सुडानको नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन । यो महिना सेनाले राजधानी खार्तूम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तूम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ ।
ओमदुरमानको व्यस्त बजारमा आरएसएफले शनिबार गरेको गोलाबारीमा ५४ जनाको मृत्यु भएको एक मेडिकल स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
“तरकारी बजारको बीचमा विस्फोटक गोला प्रहार भएको थियो । पीडित र घाइतेको सङ्ख्या सङ्कलन भइरहेको र कतिपय घाइतेलाई आफन्तले विभिन्न अस्पतालमा लगेका कारण पीडित र घाइतेको सङ्ख्या थप बढ्नसक्ने अनुमान गरिएको छ,” प्रत्यक्षदर्शी एक घाइतेले एएफपीलाई भने ।
स्थानीय सङ्कटकालीन सेवा (इआरआर) का अनुसार खार्तूमको नाइल नदीमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
आरएसएफले शनिबारलगायतका आक्रमणमा ड्रोनको प्रयोग गरेको भए पनि नियमित सशस्त्र बलका लडाकु विमानले हवाई आक्रमणमा एकाधिकार कायम राखेका छन् ।
ईआरआर सुडानमा आपतकालीन हेरचाहको समन्वय गर्ने सयौँ स्वयंसेवक समितिहरूमध्ये एक हो।
युद्धले हजारौँ मानिसको ज्यान लिनुका साथै एक करोड २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र अधिकांश स्वास्थ्य संस्थाहरू सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।
अल–नाओ अस्पतालका एक स्वयंसेवकले भने, “घाइतेहरूलाई लैजान कफन, रक्तदाता र स्ट्रेचरको चरम अभाव छ।”