दुई वर्षको रिक्ततापछि लेबनानको राष्ट्रपतिमा सेना प्रमुख अउन निर्वाचित
बेरुत । लेबनानका सांसदहरूले बिहीबार सेना प्रमुख जोसेफ अउनलाई दुई वर्षको पद रिक्ततापछि राष्ट्रपतिमा निर्वाचित गरेका छन् । यो युद्धबाट तहसनहस भएको देशलाई वित्तीय सङ्कटबाट उकास्ने दिशातर्फको एक कदम हो ।
शुक्रबार ६१ वर्ष पुग्ने अउन आफ्नो सामान्य सैन्य वर्दीको सट्टा गाढा सुट र चम्किलो निलो टाई लगाएर सपथ खान संसदमा पुग्दा उनलाई सामान्य तालीले स्वागत गरियो । “लेबनानको इतिहासमा आज एउटा नयाँ चरण सुरु हुँदैछ”, उनले सदन भने ।
समर्थकहरूले दक्षिण लेबनानको उनको गृहनगर आइशियाहमा उत्सव मनाए । त्यहाँ बासिन्दाहरू बिहानदेखि चर्च अगाडि भेला भएका थिए । चर्चलाई लेबनानी झण्डा र उनको तस्बिरले सजाइएको थियो ।
“राष्ट्रपति जोसेफ अउन हुनुहुन्छ”, संसद् अध्यक्ष नबिह बेरीले १२८ मध्ये ९९ सांसदले उनको उम्मेद्वारलाई समर्थन गरेपछि भने ।
अउनले इजरायली सीमामा युद्धविरामको निरीक्षण गर्ने र देशलाई इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटबाट बचाउन अन्तर्राष्ट्रिय ऋणदाताहरूले माग गरेका सुधारहरूको नेतृत्व गर्न प्रधानमन्त्री नियुक्त गर्ने चुनौतीपूर्ण कार्यहरूको सामना गर्नुपर्नेछ ।
अउन लेबनानको राष्ट्रपति बन्ने पाँचौँ र लगातार चौथो सेनाका कमान्डर हुन् । बहु–साम्प्रदायिक लेबनानको शक्ति साझेदारी प्रणालीअन्तर्गत राष्ट्रपति सैन्य प्रमुखहरूजस्तै एक मारोनाइट इसाई हुनुपर्दछ ।
भूमध्यसागरीय देश लेबनान मिशेल अउनको कार्यकाल सन् २०२२ अक्टोबरमा समाप्त भएयता राष्ट्रपतिविहीन थियो । वर्तमान राष्ट्रपति अउन उहाँको उत्तराधिकारीसँग सम्बन्धित छैनन् । इरान समर्थित हिजबुल्लाह आन्दोलन र यसका विरोधीहरू बीचको तनावले दर्जनौँ पूर्व मतदानहरू विफल बनाएको थियो ।
गत शरद ऋतुमा हिजबुल्लाह–इजरायल युद्धपछि दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेनासँगै लेबनानी सेनाहरू तैनाथ गर्न युद्धविराममा १७ दिन मात्र बाँकी रहँदा सफल परिणामका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
सन् १९७५–१९९० को गृहयुद्धको अन्त्यपछि राष्ट्रपतिको अधिकार घटाइएको छ । तर अन्तर्राष्ट्रिय ऋणदाताहरूले माग गरेको सुधारहरू गर्न सक्षम सरकारको नेतृत्व गर्न नयाँ प्रधानमन्त्रीको नामकरण गर्ने दिशामा परामर्शको निरीक्षण गर्न पद भर्नु महत्त्वपूर्ण छ ।
अउनलाई सेनाका समर्थक संयुक्त राज्य अमेरिकाका साथै क्षेत्रीय महाशक्ति साउदी अरेबियाको रोजाइका रूपमा व्यापक रूपमा हेरिएको थियो ।
तर हिजबुल्लाह समर्थक समूहका सांसदहरूले बिहीबार बिहान पहिलो चरणको मतदानमा खाली मतदान गरेको उनीहरूको नजिकको स्रोतले बतायो । यसबाट सेना प्रमुख अउन सीधै जित्न आवश्यक दुई–तिहाई बहुमत प्राप्त गर्न चुके ।
स्रोतका अनुसार समूहका प्रतिनिधिहरूले ब्रेकको समयमा संसद्मा अउनसँग भेट गरे र सांसदहरू दोस्रो मतदानका लागि फर्किए ।