इथियोपियामा सवारी दुर्घटना हुँदा ७१ जनाको मृत्यु
नैरैबी । दक्षिण इथियोपियामा आइतबार सवारी दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको त्यहाँको प्रहरीले जनाएको छ ।
सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबूकमा लेखेको छ, ‘दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ ।’
घटनामा अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी भएको छैन ।
राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।
स्वास्थ्य ब्युरोले यसअघि सार्वजनिक गरेको धमिलो तस्वीरमा पानीमा आंशिक रूपमा डुबेको एउटा गाडीलाई घेरेको र धेरैले त्यसलाई पानीबाट बाहिर निकाल्न प्रयास गरिरहेको देखिएको थियो ।
ब्युरोले सार्वजनिक गरेका अन्य तस्वीरमा मृतकहरूलाई भुइँमा निलो त्रिपालले छोपिएका देखिन्छ ।
अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथियोपियामा सडकको दूरावस्था, पूराना सवारी साधन र चालकले गर्ने ट्राफिक नियम उल्लङ्घनका कारण हरेक वर्ष सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।