पाकिस्तानद्वारा जलवायु परिवर्तनसँग जुध्न आइएमएफसँग थप सहयोगको अपील


 

इस्लामावाद । पाकिस्तानले जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सामना गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट थप दुई अर्ब अमेरिकी डलरको माग गरिरहेको छ ।

पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले यस महिनाको अन्तमा हुने वार्षिक आइएमएफ बैठकमा आईएमएफसँग थप रकमको अनुरोध गर्ने तयारी गरेको जानकारी दिए ।

आइएमएफ र विश्व बैङ्क समूहको सन् २०२४ वार्षिक बैठक अक्टोबर २१ मा सुरु हुनेछ र वासिङ्टनमा अक्टोबर २६ मा समापन हुनेछ । प्रमुख रूपमा मन्त्रीस्तरीय सत्रहरू अक्टोबर २२ देखि २५ सम्म केन्द्रित हुनेछन् ।

औरङ्गजेबले नेतृत्व गर्नुहुने प्रतिनिधिमण्डलमा अर्थ सचिव, स्टेट बैङ्क अफ पाकिस्तानका गभर्नर र वित्तीय क्षेत्रका अन्य प्रमुख अधिकारीहरू सहभागी हुनेछन् ।

आइएमएफका अनुसार विस्तारित कोष सुविधा (इएफएफ) कार्यक्रमअन्तर्गत आगामी तीन वर्षमा पाकिस्तानको बाह्य वित्तीय आवश्यकताहरू ६२ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो रकम आर्थिक वर्ष २०२४–२०२५ देखि २०२८–२०२९ सम्मको पाँच वर्षको अवधिमा एक खर्ब दश अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि सेप्टेम्बर २५ मा आइएमफको कार्यकारी बोर्डले पाकिस्तानको ३७ महिना विस्तारित कोष सुविधा सम्झौतालाई अधिकृत गरेको थियो । यसको मूल्य लगभग सात अर्ब अमेरिकी डलर छ ।