दक्षिण अफ्रिकाले संदिग्ध सैन्य शिविरमा फेला परेका ९५ लिबियाली स्वदेश फिर्ता


दक्षिण अफ्रिकाको उत्तरपूर्वा संदिग्ध सैन्य शिविरबाट फेला परेका ९५ जना लिबियालीहरूलाई स्वदेश फिर्ता पठाइने गृह मन्त्रालयले जनाएको छ ।

जोहान्सवर्गको पूर्वमा करिब ३६० किलोमिटर टाढा ह्वाइट रिभर सहर नजिकै रहेको रिमोट ट्रेनिङ क्याम्पमा प्रहरीले छापा मार्दा पक्राउ परेका लिबियाली नागरिकलाई जुलाई २६ देखी हिरासतमा राखिएको थियो ।

“उनीहरूलाई आइतबार बिहान लिबिया सरकारको विमानमार्फत क्रुगर मपुमालाङ्गा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता पठाइनेछ,” गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उनीहरु गत अप्रिलमा सुरक्षाकर्मी प्रशिक्षणका लागि जारी गरिएको भिसामा दक्षिण अफ्रिका प्रवेश गरेको प्रहरीले जनाएको छ । तर उनीहरुले हाल सैन्य तालिम लिइरहेको आशङ्का प्रहरीले व्यक्त गरेको छ ।

“ हिरासतमा रहेका लिबियाली नागरिकहरुको द्रुत निर्वासनका सुनिश्तित गर्ने गृह मन्त्रालय र अन्य कानून प्रवर्तन अधिकारीहरूको प्रयासको म प्रशंसा गर्दछु“, गृहमन्त्री लियोन श्राइबरले विज्ञप्तिमार्फत भने ।

उक्त समूहलाई सुरुमा अध्यागमन नियम उल्लङ्घन गरेको आरोप लगाइएको थियो । त्यसपछि अन्य अपराधमा पनि संलग्न हुन सक्ने कारण देखाई अधिकारीहरुले थप अनुसन्धानको लागि मुद्धा स्थगित गरेका थिए ।

तर बिहीबार दक्षिण अफ्रिकाको राष्ट्रिय अभियोजन प्राधिकरणले अपर्याप्त प्रमाणको कारण देखाउँदै मुद्दा खारेज गरेको थियो ।