पश्चिमसँग सम्बन्ध तोड्दा रुसी अन्तरिक्ष एजेन्सीलाई दुई अर्ब १० करोड डलर नोक्सान


 

युक्रेनमा रुसको आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडिएपछि झण्डै एक खर्ब ८० अर्ब रुबल (दुई अर्ब १० करोड डलर) नोक्सान भएको रुसको अन्तरिक्ष एजेन्सीले बताएको छ ।

रूसको अभियान सुरु भएपछि मस्को विरुद्ध प्रतिबन्धको एक भागका रूपमा पश्चिमी देशहरूले अन्तरिक्ष क्षेत्रमा रोस्कोसमोससँग साझेदारी तोडेका थिए ।  रोस्कोसमोस रूसमा अन्तरिक्ष गतिविधिहरूका लागि समन्वय गर्ने केन्द्र हो ।

इन्टरफ्याक्स समाचार एजेन्सीले रोस्कोसमोस एजेन्सीका उपप्रमुख आन्द्रेई येल्चानिनोभलाई उदृत गर्दै भनेको छ, “अमित्र देशहरूद्वारा सम्झौताहरू खारेज गर्दा रोस्कोसमसलाई एक खर्ब ८० अर्ब रूबल खर्च भएको छ ।”

रोकिएको सहयोगमध्ये एक युरोपेली अन्तरिक्ष एजेन्सीसँग मङ्गल ग्रह अन्वेषणका लागि एक योजनाबद्ध संयुक्त अभियानमा सहयोग थियो ।

रोसकोसमोसले फ्रेन्च गुयानाको कोउरो अन्तरिक्ष बन्दरगाहबाट आफ्नो सोयुज रकेटको प्रक्षेपणलाई पनि स्थगित गरेको छ ।

येल्चानिनोभले एजेन्सीले एसिया, अफ्रिका र मध्यपूर्वका देशहरूसँग थप व्यापार गरेर गुमेको राजस्वको पूर्ति गर्ने योजना बनाएको बताए ।

रुसको अन्तरिक्ष क्षेत्रले वित्तीय समस्या, भ्रष्टाचार घोटाला र सन् २०२३ अगस्टमा लुना–२५ चन्द्र मोड्युलको नोक्सानी जस्ता असफलताहरूसँग सङ्घर्ष गरिरहेको छ ।