ट्वीनटावर आक्रमणका तीन योजनाकार दोष मान्न सहमत, मृत्युदण्ड नमागिने
बीबीसी । सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको षड्यन्त्र बनाएको आरोप लागेका तीन जनासँग ‘सुनुवाइअघि नै सहमति’ भएको अमेरिकाको रक्षा मन्त्रालयले जनाएको छ ।
खालिद शेख मोहम्मद, वालिद मुहम्मद सालिह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल–हाउसावीलाई क्युबास्थित अमेरिकी जलसेनाको आधारशिविर ‘ग्वान्टानामो बे’मा वर्षौँदेखि कुनै पनि आरोपमा मुद्दा नचलाई राखिएको छ ।
अमेरिकी समाचारसंस्थाहरूले जनाएअनुसार अभियोजनकर्ताहरूले मुद्दा दायर गर्दा ती व्यक्तिको मृत्युदण्ड माग नगर्ने सर्तमा उनीहरूले दोष स्वीकार गर्ने भएका हुन् ।
यद्यपि उक्त सम्झौताका सर्त सार्वजनिक हुन बाँकी छ । अल–कायदाले गरेका आक्रमणहरूमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भेनिया राज्यमा झन्डै तीन हजर मानिसको मृत्यु भएको थियो । उक्त आक्रमणपछि अमेरिकी नेतृत्वमा अफगानिस्तान र इराकमा आक्रमणहरू सुरु भएका थिए।
ती युद्धलाई अमेरिकाले ‘वार अन टेरर’ अर्थात् ‘आतङ्कवादविरुद्धको युद्ध’ भनेको थियो । सन् २००१ का ती आक्रमणहरू अमेरिकी भूमिमा दोस्रो विश्वयुद्धपछि भएका सबैभन्दा घातक हमला थिए । दोस्रो विश्वयुद्धका बेला सन् १९४१ मा हवाईमा जापानले आक्रमण गर्दा पर्ल हार्बरमा २ हजार ४०० जनाको मृत्यु भएको थियो ।
त्यसपछि अल–कायदाको आक्रणम नै अमेरिकी भूमिका भएको सबैभन्दा घातक हमला हो । न्यूयोर्क टाइम्सका अनुसार तीन आरोपितलाई पठाइएको एउटा पत्रमा अभियोजनकर्ताहरूले उक्त सम्झौताबारे जानकारी दिएका थिए ।
‘सम्भावित सजायबाट मृत्युदण्डको माग हटाउने प्रतिबद्धताको साटो यी तीन अभियुक्तहरू आरोपपत्रमा सूचीकृत २,९७६ जनाको हत्यालगायत आरोप लागेका सबै अपराध स्वीकार गर्न सहमत भएका छन्,’ प्रमुख अभियोजक रेअर एड्मिरल आरोन रफको पत्रमा भनिएको छ ।
ती तीन पुरुषलाई नागरिकहरूमाथि आक्रमण गरेको, युद्धसम्बन्धी कानुन उल्लङ्घन गरी हत्या र अपहरण गरेको र आतङ्कवादी कार्य गरेको जस्ता अभियोगहरू लगाइएको छ । द टाइम्सका अनुसार उनीहरूले अर्को साताको सुरुमा अदालतमा औपचारिक रूपमा त्यसबारे निवेदन दिने अपेक्षा गरिएको छ ।
खालिद शेख मोहम्मद ती आक्रमणको मुख्य योजनाकार भएको मानिन्छ । उनको योजनानुरूप नै अपहरणकारीहरूले यात्रुवाहक विमानहरू आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र वाशिङ्टनबाहिर पेन्टागनमा लगेर ठोकाउन बाध्य बनाएको ठानिन्छ ।
चौथो विमान चाहिँ त्यसमा सवार यात्रुहरूले अपहरणकारीमाथि प्रत्याक्रमण गरेपछि पेन्सिल्भेनियास्थित एउटा मैदानमा खसेर दुर्घटना भएको थियो । मोहम्मद अमेरिकामा पढेका इन्जिनियर हुन्। उनी सन् २००३ मा हाउसावीसँगै पाकिस्तानमा पक्राउ परेका थिए ।
अभियोजनकर्ताहरूका अनुसार उनले विमान अपहरण गर्ने तर विमानहरूलाई अमेरिकी भवनहरूमा ठोकाउने योजना अल–कायदाका नेता ओसमा बिन लादेनलाई सुनाएका थिए र पछि केही अपहरणकारीहरूलाई तालिम दिन तथा उक्त कार्यमा संलग्न गराएका थिए ।