हिज्बुल्लाह र इजरायलबीच तनाव चुलियो
बीबीसी । गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हिज्बुल्लाह र इजरायलबीच तनाव चुलिएको र दुई पक्षबीच लडाइँ चर्किन सक्ने भय उत्पन्न भएको छ ।
विगत नौ महिनादेखि इजरायल र हिज्बुल्लाहबीच गोली हानाहान भइरहेको भएपनि गोलान हाइट्समा शनिवार भएको आक्रमण इजरायलको उत्तरी क्षेत्रको सीमामा भएको सबैभन्दा घातक घटना हो । गोलन हाइट्स इजरायल अधीनस्थ क्षेत्र हो । त्यहाँ हिज्बुल्लाहले रकेट प्रहार गरेको इजरायलको आरोप छ ।
हिज्बुल्लाह शिया मुस्लिमहरूको संस्था हो। यो राजनीतिक रूपमा प्रेरित छ र लेबननको सबैभन्दा शक्तिशाली सशस्त्र समूहको नियन्त्रणमा छ । हिज्बुल्लाहको शाब्दिक अर्थ ’ईश्वरको दल’ हो ।
यसको स्थापना सन् १९८० को दशकको आरम्भमा यो क्षेत्रको सबैभन्दा प्रभावशाली शिया शक्ति रहेको इरानले इजरायलविरुद्ध गरेको थियो । त्यसबेला इजरायली सेनाले लेबननमा चलिरहेको गृहयुद्धको समयमा दक्षिणी लेबननलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
यसको सैन्य एकाइले लेबननमा रहेका इजरायली र अमेरिकी फौजमाथि घातक आक्रमण गरेको थियो । सन् २००० मा लेबननबाट इजरायल बाहिरिँदा त्यसको प्रमुख श्रेय हिज्बुल्लाहले लियो ।
त्यसयता हिज्बुल्लाहले दक्षिणी लेबननमा हजारौँ लडाकुहरू र विशाल क्षेप्यास्त्रसहितका अस्त्र तैनाथ गरेको छ । यसले विवादास्पद सीमा क्षेत्रमा इजरायलको उपस्थितिको विरोध गर्दै आएको छ।