नैरोबीमा फोहर विसर्जन स्थलबाट आठ महिलाको शव फेला
नैरोबीको एउटा बस्तीमा रहेको फोहर विसर्जन स्थलबाट हालसम्म आठजना महिलाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।
“उनीहरूलाई विभिन्न अवस्थामा गम्भीररूपमा कुहिएको र बोराहरूमा छोडिएको थियो”, डगलस कान्जाले पत्रकार सम्मेलनमा भने । फेला परेका शवका बारेमा अनुसन्धान जारी छ ।
पहिलो छ शव शुक्रबार र शनिबार थप दुई महिलाको शव फेला परेको कान्जाले बताए । “म जनतालाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, पूर्ण र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ”, उनले भने ।
गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएपछि सार्वजनिक आक्रोशका कारण राष्ट्रिय प्रहरी प्रमुख जाफेट कुमेले राजीनामा दिएपछि कान्जाले यस हप्ता मात्र आफ्नो पद ग्रहण गरेका थिए ।