युक्रेनमा नेटोको विस्तार अस्वीकार्य भएको क्रेमलिनको प्रतिक्रिया


उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को युक्रेनमा विस्तार हुनु रूसको सुरक्षाका लागि ‘अस्वीकार्य खतरा’ भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।

वासिङ्टनमा भएको नाटो शिखर सम्मेलनमा बुधबार पारित संयुक्त घोषणापत्रमा ‘युक्रेनको भविष्य नाटो मै रहेको’ उल्लेख भएपछि पेस्कोभको यो टिप्पणी आएको हो ।

पेस्कोभले भने, “गठबन्धन वास्तवमा युक्रेनी द्वन्द्वमा पूर्ण रूपमा संलग्न छ र यसको सैन्य पूर्वाधार क्रमिक रूपमा रूसको सीमातर्फ अघि बढिरहेको छ ।”

“सुरुदेखि नै हामीले युक्रेनको भूभागमा नाटोको विस्तार हामी, हाम्रो अस्तित्व र हाम्रो सुरक्षाका लागि अस्वीकार्य खतरा हो भनेका थियौं,” उनले भने ।

शिखर सम्मेलनमा अपनाइएका उपायले रूसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्न बाध्य बनाएको उनले बताए ।

“यसका लागि हामीले नाटोलाई नियन्त्रण गर्न विचारशील, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य उपायहरू बनाउन आवश्यक छ,” क्रेमलिनका प्रवक्ता पेस्कोभले भने ।