युक्रेनलाई नेटोको सदस्यता दिने नेताहरुको आश्वासन
बीबीसी । अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित बैठकमा नेटो गठबन्धनका नेताहरूले चार करोड अमेरिकी डलर बराबरको सैन्य सहायता किएभलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पश्चिमा मुलुकहरूको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्यराष्ट्रहरूले युक्रेनलाई भविष्यमा उक्त गठबन्धनको सदस्य बन्न ‘अपरिवर्तनीय मार्ग’ खोल्ने आश्वासन पनि दिएका छन् । सदस्यताका लागि औपचारिक समयसीमा भने निर्धारण गरिएको छैन ।
यद्यपि नेटोका ३२ सदस्यराष्ट्रले युक्रेनलाई उसको युद्धमा आफ्नो अटल समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । पदावधि सकिन लागेका महासचिव जेन्स स्टोल्टन्बर्गले प्रस्तुत गरेका संयुक्त वक्तव्यमा आगामी वर्षमा नेटोले युक्रेनलाई गर्ने त्यस्तो सैन्य सहयोगको उल्लेख गरिएको छ ।
त्यस्तो सैन्य सहयोगमा एफ १६ लडाकु जेट र हवाई आक्रमण प्रतिरक्षा प्रणालीहरू पनि पर्ने छन् । स्टोल्टन्बर्गले युक्रेनलाई गरिने सहयोग कुनै दानदातव्य नभई नेटोको आफ्नै सुरक्षा चासोको रक्षार्थ भएको बताएका छन् ।
नेटोको सम्मेलको मुख्य अजेन्डा ’युक्रेन युद्ध’ थियो। सबै सदस्यराष्ट्रहरूले सहमति जनाएको वक्तव्यमा अहिले रुस नै ‘सबैभन्दा महत्त्वपूर्ण एवं प्रत्यक्ष सुरक्षा खतरा’ रहेको उल्लेख छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिकामा निर्मित एफ–१६ लडाकु विमानहरूलाई डेन्मार्क तथा द नेदरल्यान्ड्सबाट युक्रेन पठाइने प्रक्रिया थालिएको बताए ।
युक्रेनले उक्त अत्याधुनिक विमान पाउन लागेको यो पहिलो पटक हो। किएभले लामो समयदेखि यसको माग गर्दै आएको थियो। ब्लिङ्कनले बैठकमा ती विमान यही ग्रीष्म याममा प्रयोगमा आउने बताए ।