हमासका ‘६० प्रतिशत’ लडाकू मारिएका वा घाइते भएका इजरायली रक्षामन्त्रीको दाबी


 

इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले  अक्टोबर ७ को आक्रमणपछि गाजा युद्धमा हमासका ६० प्रतिशत लडाकू ‘मारिएका वा घाइते भएका’ दाबी गरेका छन् ।

ग्यालेन्टले द्वन्द्वको पहिलो नौ महिनामा संसदमा गरेको सम्बोधनमा इजरायल हमासलाई समाप्त गर्न र सबै बन्धकलाई गाजाबाट फिर्ता ल्याउन आफ्नो युद्ध लक्ष्यलाई पूरा गर्न ‘दृढ’ रहेको पुनः पुष्टि गरे ।

उनले ‘समर्पण, बलिदान र सफलताका साथ आफ्नो काम गर्ने’ इजराइली सैनिकहरूको प्रशंसा गर्दै ‘धेरै उपलब्धि’ हासिल भएको बताए ।

इजराइलले उत्तरमा गाजा सहर र दक्षिणमा रफाह तथा खान युनिस वरपर ठूलो नयाँ आक्रमण सुरु गरेको छ । यद्यपि इजराइलले हमाससँगको युद्धविराम वार्ता गर्ने सर्तहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग सम्पर्क पनि सुरु गरेको छ ।

ग्यालेन्टले भने, “हामीले हमासका ६० प्रतिशत लडाकूहरूलाई मारेका छौँ वा घाइते बनाएका छौँ र यसका २४ बटालियनमध्ये अधिकांशलाई ‘नष्ट’ गरेका छौँ ।” उनले हताहतको आँकडा दिनुभएन र इजरायली सेनाले तत्काल आफूसँग आँकडा नभएको बताएको छ ।

अक्टोबर ७ को आक्रमणपछि धेरै मुलुकले इजराइलसँग ऐक्यबद्धता व्यक्त गरे पनि सरकारले गाजालाई विनाश गरेको सैन्य अभियानका लागि आलोचनाको लहरको सामना पनि गर्नुपरेको छ ।

इजराइल आफ्नो लक्ष्यमा कायम रहने ग्यालेन्टले बताए । “हामीले आधा बन्धकहरूलाई फिर्ता गरिसकेका छौँ र बाँकीलाई फिर्ता गर्न प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “सुरक्षा प्रतिष्ठान र मैले यसको नेतृत्व गरेको छु । युद्धको लक्ष्य हासिल गर्न र पूरा गर्न म प्रतिबद्ध छु ।”