दोहामा राष्ट्रसङ्घीय वार्तामा तालिबान सरकार सहभागी हुने



अघिल्लो चरणको निमन्त्रणालाई अस्वीकार गरेका तालिबान अधिकारीहरू कतारको राजधानी दोहामा अफगानिस्तानबारे संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने तेस्रो चरणको वार्तामा सहभागी हुने एक सरकारी प्रवक्ताले आइतबार बताएका छन् ।

पहिलो चरणको वार्तामा तालिबानलाई निमन्त्रणा नगरिएको र दोस्रो चरणको वार्ताको निमन्त्रणालाई अस्वीकार गरेका कारण अफगानिस्तानका लागि विदेशी विशेष दूतहरूको सम्मेलनमा तालिबान सरकारको सहभागिता शङ्काको घेरामा परेको थियो ।

“इस्लामिक इमिरेटको एक प्रतिनिधिमण्डलले आगामी दोहा सम्मेलनमा भाग लिनेछ, प्रतिनिधिमण्डलले त्यहाँ अफगानिस्तानको प्रतिनिधित्व गर्नेछ र अफगानिस्तानको अवस्था बताउनेछ”, प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने ।

दोहामा वार्ता जुन ३० र जलाई १ मा हुनेछ तर महिला समूहहरूले पहिला नै यसको आलोचना गरिसकेका छन् ।

वार्ताको एजेन्डा ‘अफगानिस्तानका लागि लाभदायक’ देखिएकाले एक प्रतिनिधिमण्डलले वार्तामा भाग लिने मुजाहिदले आइतबार अफगान सञ्चारमाध्यमलाई बताए । यद्यपि प्रतिनिधिमण्डलको घोषणा गरिएको छैन ।

“एजेन्डामा अफगानिस्तानका लागि सहायता र लगानीकर्ताहरूका लागि अवसर सृजना गर्नेजस्ता विषय सामेल छन्, यो महत्त्वपूर्ण छ”, उनले भने ।

राष्ट्रसङ्घका अनुसार सन् २०२३ मे मा महासचिव एन्टोनियो गुटेरेसद्वारा सुरु गरिएको वार्ताको शृङ्खलाको उद्देश्य ‘अफगानिस्तानसँग थप सुसङ्गत, समन्वित र संरचित तरिकाले अन्तर्राष्ट्रिय संलग्नतालाई बढाउनु’ रहेको छ ।

फेब्रुअरीको वार्तामा महिलासहित नागरिक समाज समूहहरूलाई आमन्त्रित गरिएको थियो तर अफगानिस्तानको एक मात्र प्रतिनिधि नभएसम्म तालिबान सरकारले भाग लिन अस्वीकार गर्यो ।

यसमा गुटेरेससँग भेट्न पनि अनुरोध गरिएको थियो । तालिबानले सो बेला सहभागिताका लागि निर्धारित सर्तहरू ‘स्वीकार्य नभएको’ बताएको थियो ।

हालैका साताहरूमा राष्ट्रसङ्घका धेरै प्रतिनिधि र अन्तर्राष्ट्रिय दूतहरूले आगामी दोहा वार्तामा तालिबान सरकारसँग बैठकहरू गरेका छन् । दोहा वार्तामा गुटेरेसले भाग लिनुहुने छैन ।

कूटनीतिक स्रोतका अनुसार आगामी वार्ताअघि र पछि अफगान नागरिक समाज समूहहरूसँग परामर्श गर्ने योजना थियो तर उनीहरूले तालिबान अधिकारीहरू सहभागी हुने बैठकमा भाग लिने छैनन् ।

आधिकारिक बैठक वित्त र आर्थिक मुद्दाका साथै मादक पदार्थ विरोधी प्रयासहरूलाई कभर गर्नका लागि भएको स्रोतले बताएको छ ।

धेरै नागरिक समाज समूहले राष्ट्रसङ्घसँग महिला अधिकारलाई प्राथमिकता दिन र अफगान महिलाहरूलाई सामेल गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्वेषकद्वारा प्यान्क्रियाटिक क्यान्सर रोगीहरूमा गम्भीर पीडा कम गर्न गैर–आक्रमणकारी विधि विकास

  इजरायली अन्वेषकहरूले प्यान्क्रियाटिक क्यान्सरका बिरामीहरूमा गम्भीर पीडा कम गर्न र उनीहरूको जीवनको

शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

  केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा

विश्व बैङ्क, एफएओद्वारा दक्षिण सुडानमा जलवायु लचिलोपन परियोजना सुरु

विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले बाढी

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू)